तस्वीरः प्रधानमन्त्री प्रचण्ड र प्रेस सेन्टरका पदाधिकारी ।
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र बेथितिविरुद्ध आफुले कसैसँग कुनै सम्झौता नगर्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको छाता सङ्गठन प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले यस्तो भनाइ राख्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार र बेथितिविरुद्ध आफुमाथि कुनै दवाव आए वा सम्झौता गर्नुपरे सरकार छाड्ने भन्नुहुँदै सरकार आफ्ना लागि ठूलो कुरा नभएको र कसैसँग गलत सम्झौता नगर्ने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढ्ने विश्वास दिलाउनुभयो ।
‘भ्रष्टाचार र बेथितीविरुद्ध लड्दा लड्दै बरु सरकार गए जान्छ भन्ने सोचिएको छ के । यो विषयमा गलत सम्झौता गर्नुभन्दा बरु सरकार छोड्नु र जनतामा जानु बढी लाभदायक छ भन्ने मेरो बुझाइमा ’— प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले राम्रो काम गरेर मात्र पुग्दैन । राम्रो कामलाई यो राम्रो हो भनेर जनतालाई बुझाउने कुरा र भ्रमलाई चिर्ने कुरा धेरै महत्वपूर्ण हुन्छ, ‘राम्रो गर्ने र राम्रोको विरोध गर्नेहरुको सशक्त प्रतिवाद गरेर मात्रै आन्दोलन, जनता र राष्ट्रलाई राम्रो गर्न सकिन्छ भन्ने नै मुख्य कुरा हो’ भन्नुहुँदै सरकारका राम्रा कामहरुको पत्रकारहरुले निर्भयरुपमा जनतासमक्ष पुर्याउन आग्रहसमेत गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले आजै पार्टी मुख्यालयमा पुगेर सोही कुरालाई दोहोर्याउनुभएको छ । पार्टीका दिवंगत नेता डिआर पौडेलको चौंथो स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो — ‘कतिपयले आशङ्का गरेको देख्छु( सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने । तर, प्रष्ट रूपमा भन्छु( सरकार मेरा लागि ठूलो कुरा होइन । ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो । भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहिँ सम्झौता हुँदैन, झुकिँदैन ।’
पछिल्लो पटक सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचारविरुद्ध चालेको कदम र आफ्नो भारत भ्रमणको क्रममा भएका सहमति(सम्झौता ऐतिहासिक भएको प्रधानमन्त्रीको दावी थियो ।
एकथरीले भ्रष्टाचारविरुद्ध लड्ने हामी हौं भनेर जनतामा भ्रम सिर्जना गर्न खोजेको र असली राष्ट्रवादी म हुँ भनेर प्रचार गर्न खोजेको भन्नुहँुदै प्रधानमन्त्रीले, ‘राष्ट्रवादको कुरा गर्ने हो भने अहिलेको भारत भ्रमण जतिको राष्ट्रवाद केही पनि होइन’— भन्नुभयो ।
भारतमा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात, नेपाल(भारत पारवहन सम्झौता नवीकरण, हवाई रुट, भन्सार जाँच चौकी लगायतका विषयमा भएका सम्झौता ऐतिहासिक भएको भन्नुहुँदै प्रधानमन्त्री प्रचण्डले घेराबन्दी र अप्ठ्यारो परिस्थितिका बीच सरकारले राम्रा काम गरेको दावीसमेत गर्नुभयो ।