काठमाडौं — पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.मिलनकुमार थापाले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दाबी गर्नुभएको छ । आज मङ्गलबार सङ्घीय संसद् राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डा.थापाले पशुपतिमा चढाइएको सुनको जलहरीमा १० केजी सुन नपुगे आफूलाई मृत्युदण्ड दिन समितिमा माग गर्नुभएको हो ।

छानबिन गरेर कारबाही गर्नुपर्नेमा त्यसो नगरी ‘सुन चोर’ भनिएकामा आपत्ति जनाउँदै उहाँले राज्यको कान भएपनि आँखा नभए जस्तो अनुभव भएको बताउनुभयो । आफू कोषाध्यक्ष हुँदा संयोजक भएर पशुपतिमा सुनको जलहरी राखिएको उल्लेख गर्दै सुनमा अनियमितता गरिएको भनी आफ्नो बेइज्जत गरिएको सदस्यसचिव थापाले बताउनुभयो । सुनमा अनियमितताको आरोप लागेकैले आफू फेरि सदस्यसचिव भएर आएको उहाँले सुनाउनुभयो ।
सदस्य सचिव थापाले सो जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताउँदै आफूले पटक–पटक सो जलहरीको सुन तौललिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै गहभरी आँशु झार्नुभयो । आफ्ना दुई सन्तान रहेका र उनीहरुको भविष्य समेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको दुखेसो पोख्दै सदस्यसचिव डा. थापाले राज्यको नीति यही हो? भनि प्रश्न समेत गर्नुभयो ।

सदस्य सचिव थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दूरुपयोग गरेर बाँच्नु नपर्ने भन्दै यो केशमा आफूले न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको हो र? भनि सांसदहरुसँग जिज्ञासा समेत राख्नुभयो ।

सदस्य सचिव थापाले ‘के सुनको जलहरीमा न्याय माग्न मैले पनि आत्महत्या गर्नुपर्ने हो? माननीयज्यूहरु । म यो सुनको जलहरी समितिको संयोजक हो। यसमा नेपाल राष्ट्र बैंकले दिएको सम्झौता अनुसार हामीले सुन लिएर आएका छौं–१०३ केजी । त्यतिखेर हामी एउटा राज्यको निकायबाट मनोनित भएपछि हामी कर्मचारी हो। राज्यका प्रमुखहरुले जे निर्देशन दिनुहुन्छ, त्यो गर्नु के गलत हो? त्यतिखेर सम्माननीय प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो। सम्माननीय राष्ट्रपति विद्या भण्डारीज्यू हुनुहुन्थ्यो। उहाँहरुको निर्देशनमा हामीलाई शिवरात्री भरीमा त्यो सकाउनु भनिएको थियो। हामीले सकायौं। गल्ती के गर्यौं? भन्नुभयो ।’

उहाँले भन्नुभयो, ‘यति त्रुटिपूर्ण भएको हो कि हामीले त्यो सुनको जलहरी हाल्दैगर्दा हाम्रो प्रदेश सांसद नरोत्तम बैद्य र अधिवक्ता निकिता ढुंगानाले सुनको जलहरी हाल्नु हुन्न भनेर अदालतबाट अन्तरिम आदेश ल्याउनु भयो। ९६ किलो ८२२ ग्राम सुन तयार भइसकेको छ। १० केजी भएको छैन भनेपछि हामीले त्यो माईन्यूटमा नलेखेको मात्रै हो। १० केजी सुन शिवले पहिरिएर राख्नु भएको छ । कि जोख्दा खेरी थाहा हुन्छ नि पित्तल हाल्यो कि चाँदी हाल्यो । यदि १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ । म मृत्युदण्ड लिन तयार छु ।’

थापाले भन्न्ुभयो, ‘आयोगले छानबिन गर्न नपर्ने ? पटकपटक हामीलाई मुद्दा चलाउँछु भनेको छ। जोखेर मुद्दा चलाउन। यो च्यालेन्ज हो । पुगेन भनी फाँसीदेऊ । तर हाम्रा पत्रकार साथीहरुले यथार्थ नबुझिकन सुनचोर भनेर निकालिदिनु हुन्छ । मेरा दुईटा बच्चा छन् । मेरो बच्चाको भविष्य अन्धकार बनाई दिने? राज्यको त्यही नीति हो?’

“सुनको जलहरी बनाउने बेलामा २४ सै घण्टा नेपाली सेनाको सुरक्षा राखिएको थियो, त्यसबेला सिसीटिभी राखिएको थियो, त्यसको फुटेज सुरक्षित छ, बाहिर आएका सबै विषय सत्य छैनन्, सांसद्हरुले पनि यस विषयमा बुझ्नुहोला”–सदस्यसचिव थापाले भन्नुभयो । पशुपति क्षेत्रका धेरै कुरा पारदर्शी बनाउन घाट र क्रियापुत्री बाहेकका सबै रकम बैङ्किङ प्रणालीबाट जम्मा हुने व्यवस्था गरिएको छ । सुनको विषय नजोखीकन कसैलाई कारबाही नगर्न पनि उहाँले माग गर्नुभयो ।

कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले पशुपतिमा सुनकै जलधारा, शङ्ख, अघ्र्य आदि पनि सुनकै रहेको उल्लेख गर्नुभयो । पशुपति क्षेत्रमा फूल पसल राखेर फोहर गर्ने पसलेलाई कारबाही गर्न खोज्दा सांसदको फोन आउने गरेको उहाँले समिति बैठकमा जानकारी दिनुभयो ।
कोषका प्रवक्ता रेवतीरमण अधिकारीले द्वारिका होटलले चर्चेको पशुपति गुठीको नाममा रहेको दुई रोपनी जग्गाको भाडा वार्षिक रु छ हजार आउने गरेको जानकारी दिनुभयो ।