काठमाडौं — काठमाडौंको ओमबहालस्थित माथेमा चोकमा गएराति खुकुरी प्रहार गरी आफ्नै भाइले दाइको हत्या गरेका छन् । प्रहरीका अनुसार घरायसी विवादका कारण २५ वर्षीय सुरज शाक्यले खुकुरी प्रहार गर्दा ४५ वर्षीय दाजु सूर्य शाक्यको मृत्यु भएको हो ।
गएराति घरमै दाजु–भाइबीच झगडा हुँदा मध्यराति १२ बजे भाइ सुरजले दाइ सूर्यको टाउकोमा खुकुरी प्रहार गरेर भागेका थिए । घरका अन्य सदस्यहरु निन्द्रामा भएकाले सूर्यमाथि खुकुरी प्रहार भएको थाहा नपाएको र बिहान ८ः२० बजे मात्र घरका सदस्यहरुले सूर्यलाई घरमै मृत अवस्थामा फेला पारेका थिए ।
घटनाबारे जानकारी पाएलगत्तै जनसेवाका डिएसपी भेषराज रिजालको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो। दाइको टाउकोमा खुकुरी प्रहार गरी भागेका सुरजलाई काठमाडौं महानगरपालिका वडा नम्बर २५ सिघलमा लुकिछिपी बसेको अवस्थामा आज बिहान पौने १० बजे पक्राउ गरिएको जनसेवा प्रहरीका डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो । उनीमाथि थप अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।