फाइल तस्वीर

काठमाडौं — प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टलगायतले वि.सं २०५२ सालदेखि माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराइ बेवास्ता गरेको भन्दै माओवादी अध्यक्ष दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईमाथि कारबाहीको माग गर्दै रिट दायर गरेका हुन् ।

बाल सेना दुरुपयोग लगायत आरोप लगाउँदै पूर्व बालसेना तथा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टलगायत ९ जनाले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए । रिट निवेदकले गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग लगायतलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन् ।

जनयुद्धको समयमा बाल सैनिक प्रयोग गरिएको कारण तत्कालीन नेकपा माओवादीको नेतृत्वलाई कारबाहीको माग गर्दै पूर्व बाल सैनिक लेनिन विष्टले दायर गरेको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । सो रिटमाथि आज मङ्गलबार सुनुवाइ हुन लागेको हो ।