तस्वीरः प्रतिनिधिसभामा बोल्दै अर्थमन्त्री महत ।
काठमाडौं — अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरिएको बताउनुभएको छ । आ.व.२०८०÷०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरिएको बताउनुभएको हो ।
‘यो कार्यक्रममा बजेटको सीमितता छ । भौतिक पूर्वाधारको निकै माग छ । यस्तो बेलामा निर्वाचन क्षेत्रमा नभइ नहुने पूर्वाधार आयोजनामा कम्तिमा एक करोड रुपैयाँका दरले बजेट जाँदा पूर्वाधार विकासमा सहयोग पुग्यो । यो पूँजीगत खर्च नै हो’— अर्थमन्त्री महतले सांसदहरुको प्रश्नको जवाफ दिंदै कम्तिमा एक करोड घटीको बजेटमा ठेक्का नलाग्ने र ठेक्का लगाउने काम सम्बन्धित मन्त्रालयकै रहेको प्रष्टीकरण दिनुभयो ।
‘माननीयले त सिफारिस मात्रै गर्ने हो । सिफारिस पनि गर्न नपाउने कुरा नाजायज हो र’ भनि प्रतिप्रश्न गर्नुभयो । निर्वाचन क्षेत्रमा निर्वाचित, समानुपातिकलगायत सबै मिलेर योजना छनौट गर्ने कार्यविधि समेत बन्ने अर्थमन्त्रीको भनाइ थियो ।
अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा प्रत्येक निर्वाचन क्षेत्रको लागि पाँच करोड रुपैयाँ विनियोजन गर्नुभएको छ । बजेटमा सडक, सिंचाई, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका भौतिक पूर्वाधार निमार्णका आयोजना तथा कार्यक्रमका लागि ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गर्नुभएको छ । अर्थमन्त्रीले आज सबैप्रश्नको जवाफ दिनुहुने छ ।