तस्वीरः २०६३ साल चैत ७ गते हत्या गरिएका माओवादी कार्यकर्ताको शव ।।
काठमाडौं — सर्वोच्च अदालतमा दर्ता भएको गौर हत्याकाण्डसम्बन्धी मुद्दाको सुनुवाइको पेश आज सोमबारका लागि तोकिएको छ । यसअघि जेठ २५ गते सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलास परेको उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको र उक्त मुद्दाको सुनुवाइ आज हुन लागेको हो ।

उक्त मुद्दाको सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको छ । वि.सं. २०६३ साल चैत ७ गते गौरमा तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादी आमसभा गर्न दुवै पक्षले एकै ठाउँमा मञ्च बनाएका र कार्यक्रम सुरुहुने बेला फोरमका कार्यकर्ताहरुले माओवादीका कार्यकर्ताहरुमाथि साङ्घातिक आक्रमण गरी विभत्स किसिमले २८ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो । माओवादीका महिला कार्यकर्तालाई बलात्कार गर्ने, उनीहरुको स्तन काट्ने र कतिपयको स्थानीय मन्दीर लगेर रगतको भोग समेत दिएको तत्कालीन माओवादीको दाबी थियो ।

यस विषयमा राष्ट्रिय मानवअधिकार आयोगले समेत छानविन गरी दोषीलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएको थियो । तर त्यस विषयमा कही कतैबाट सुनुवाइ नभएको भन्दै १६ वर्षपछि यस हत्याकाण्डविरुद्ध पीडित परिवारका तर्फबाट जेठ २१ गते त्रिभुवन साहले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनुभएको थियो । उक्त मुद्दाको पेशी जेठ २२ गते पनि न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको भए पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो ।