काठमाडौं — अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढङ्गले वजेट निर्माण भएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज विहान आयोजना गरेको क्षेत्रीय सम्मेलनमा अर्थमन्त्री डा. महतले देश र जनतालाई केन्द्रविन्दूमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको दाबी गर्नुभएको हो ।

उहाँले भन्नुभयो , “केही समूहलाई बजेटबारे चित्त बुझेको छैन, दृढ अठोठका साथ कुनै स्वार्थ समूहको कुरा नसुनी बजेट निर्माण गरेका हौँ, बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ, बजेटले सबै क्षेत्रलाई समेटेको छ ।” निरपेक्ष भावका साथ बजेट निर्माण गरिएको उहाँको भनाइ छ ।

अर्थमन्त्री डा महतले आफ्नो अठोट देश र जनताप्रति भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो–“हाम्रा आकाङ्क्षाहरु धेरै छन् तर स्रोत र साधन सीमित छन्, भएका स्रोत साधनलाई उच्चतम प्रयोग गरी अर्थतन्त्रलाई चलायमान बनाउन लाग्नुपर्छ ।”
नेपाली काङ्ग्रेसका प्रवक्तासमेत रहनुभएका डा महतले पार्टीभित्र अनुशासन जरुरी रहेको बताउनुभयो । पार्टीभित्र एक अर्काप्रति आदर र सम्मान गर्ने परिपाटी राख्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले काङ्ग्रेस बलियो भए कुनै राजनीतिक दल र शक्तिसँग समन्वय र गठबन्धन गर्न नपर्ने बताउनुभयो । पार्टीभित्र छलफल गरी निष्कर्ष निकालेर बाहिर एक स्वरका साथ जानुपर्ने उहाँको भनाइ छ । व्यक्ति पार्टीभन्दा ठूलो बन्न नसक्ने डा महतले बताउनुभयो ।