तस्वीरः प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की ।
काठमाडौं — सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदका लागि प्रस्तावित प्रधानन्यायाधीशको विषयमा छलफल गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । सर्वोच्चका लागि प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका विषयमा छलफल गर्न आज सोमबार बिहान ११ बजे समितिको बैठक बोलाइएको हो ।
वैशाख २५ गते संवैधानिक परिषद्ले सर्वोचच अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाईे प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले दश दिनको समय दिएर जेठ १६ गते प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको थियो ।
शुक्रबारसम्म उजुरीका लागि दिइएको समयमा उनीविरुद्ध ३० वटा उजुरी परेका समितिको सचिवालयले जनाएको छ । प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध छ जना कानून व्यवसायीले समेत उजुरी दर्ता गराएका छन् । प्राप्त उजुरीहरुमध्ये केही इमेल र केही स्वयम् उपस्थित भै समितिमा दर्ता भएको समितिले जनाएको छ । उजुरीमाथि आज बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा छलफल हुनेछ ।
प्रस्तावित प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीशमा नियुक्त हुनुभएमा उहाँले सर्वोच्चको नेतृत्व आगामी साउन १९ गतेसम्म गर्नुहुनेछ । साउन २० गतेदेखि ६५ वर्षे उमेर हदका कारण कार्कीे अनिवार्य अवकाशमा जानुहुनेछ । यसअघि कानून व्यवसायी कार्की एमालेको कोटाबाट सर्वोच्च अदालतको न्यायाशीधमा नियुक्त हुनुभएको थियो । उहाँ एमालेको निकटस्थ मानिनुहुन्छ । त्यसो त सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बाहेक अधिकांश न्यायाधीशहरु एमाले र काङ्ग्रेसको कोटाबाट सर्वोच्चका न्यायाधीशमा नियुक्त हुनुभएको छ ।