तस्वीरः प्रकाशमान सिंह, नेता नेपाली काङ्ग्रेस ।
काठमाडौं — नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिसम्मत् ढङ्गले चल्न नसकेको बताउनुभएको छ । नेता सिंहले नेपाल ट्रेडयुनियन काङग्रेस बागमती प्रदेशको दोस्रो अधिवेशनलाई आज सम्बोधन गर्दै पार्टी विधिसम्मत् ढङ्गले चल्न नसक्दा भ्रातृ र शुभेच्छुक संस्था अफ्ट्यारोमा परेको बताउनुभएको हो ।
अधिवेशनलाई सम्बोधन गर्दै नेता सिंहले ‘प्रजातान्त्रिक पार्टी काङ्ग्रेस प्रजातान्त्रिक विधि र पद्धतिअनुसार चल्न सकेन, विधि र विधानअनुसार चल्न नसकेकै कारण यो अवस्था सिर्जना भएको हो’— भन्नुभयो । नेता सिंहले ट्रेड युनियनका मुद्दा सम्बोधन गर्न काङ्ग्रेस लागिपर्ने स्पष्ट पार्दै योग्य र ट्रेड युनियन हाक्नसक्ने नेतृत्वलाई चयन गर्न प्रतिनिधिलाई आग्रह गर्नुभयो ।
काङ्ग्रेस केन्द्रीय सदस्य रमा पौडेलले काङ्ग्रेसलाई बलियो बनाउन ट्रेड युनियन काङ्ग्रेस बलियो हुनुपर्ने धारणा व्यक्त गर्नुुभयो । उहाँले ट्रेड युनियन कांग्रेस र पार्टीको नेतृत्वलाई जोड्न आफू लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल ट्रेड युनियन काङग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचार्यले पार्टी नेतृत्वले मजदुरको समस्यालाई सम्बोधन गर्न नसकेको गुनासो गर्नुुभयो ।
अध्यक्ष आचार्यले मुलुकको सात सय ५३ वटै स्थानीय तहमा ट्रेड युनियन कांग्रेसको सङ्गठन विस्तार गर्न ट्रेड युनियन काङ्ग्रेस लागेको बताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष खिलानाथ दाहाल, वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादव, महासचिव योगेन्द्र कुँवरलगायतले पार्टीको विधानमा मजदुरको मुद्दालाई समावेश गर्न पार्टी नेतृत्व लाग्नुपर्ने बताउनुभयो । आज आइतबारदेखि सुरु भएको महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम छ ।