तस्वीरः कार्यक्रमलाई सम्बोधन गर्दै काङ्ग्रेस नेता डा. शेखर कोइराला ।
भक्तपुर – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले अदालतको आदेश विपरित राष्ट्रपतिमार्फत् रेशम चौधरीलाई आममाफी दिंदा लोकतन्त्रलाई नै कमजोर बनाउने काम भएको बताउनुभएको छ । काङग्रेस जिल्ला कार्य समिति भक्तपुरले आज शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै बोल्दै नेता कोइरालाले यस्तो अभियक्ति दिनुभएको हो ।
सरकारले सत्ता टिकाउनका लागि दण्डहीनतालाई प्रश्रय दिने काम गरेको भन्नुहुँदै नेता कोइरालाले टीकापुर घटनामा सर्वोच्च अदालतको आदेश विपरित रेशम चौधरीलाई आममाफी दिनु गलत भएको जिकिर गर्नुभयो ।
नेता कोइरालाले कार्यक्रमलाई सम्बोधन गर्दै तीन वटै तहको अदालतको आदेश विपरित राष्ट्रपतिमार्फत चौधरीलाई आममाफी दिनुले लोकतन्त्रलाई नै कमजोर बनाउने उल्लेख गर्दै उच्च अदालत, जिल्ला अदालत र सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले टीकापुर हत्याकाण्डको मसी सुक्न नपाउँदै माफी दिनुभयो । हामी जस्ताले त्यसलाई कसरी हेर्ने ? सरकार टिकाउनका लागि यी कुराहरू गर्दाखेरि लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ’— भन्नुभयो ।
यसैगरी अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषणका क्रममा सरकारले निर्वाचन कार्यालयलाई प्रमुख जिल्ला अधिकारीको कार्यालय मातहतमा राख्न खोज्नु गलत भएकाले त्यसलाई सच्याउनुपर्ने नेता कोइरालाको भनाइ थियो । सरकारको यो निर्णयले निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि नै प्रश्न उठ्ने बताउनुभयो ।
नेता शेखर कोइरालाले काङ्ग्रेस कमजोर नभएको उल्लेख गर्दै नेता कार्यकर्ताहरुको मानसिकता मात्रै कमजोर भएको र हीन भावना लिएर नबस्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । नेता कोइरालाले ‘काङ्ग्रेस कमजोर भएको छैन । हाम्रो मानसिकता कमजोर भएको हो’ —भन्नुभयो ।