तस्वीरः संसदीय सुनुवाइ समितिको बैठक।
काठमाडौं– सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीशमा प्रस्तावित कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् । संसदीय सुनुवाइ समितिमा कार्कीविरुद्ध २९ वटा उजुरी परेको हो ।
विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिन हिजोसम्मको समय दिएको थियो । सो समयभित्र २९ वटा उजुरी प्राप्त भएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।
प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेका उजुरीमध्ये पाँचवटा इमेलमार्फत् र बाँकी व्यक्ति स्वयं उपस्थित भएर सुनुवाइ समितिमा उजुरी दिएको सचिवालयले जनाएको छ । उजुरी दिनेमध्ये छ जना कानुन व्यवसायीसमेत रहेका छन् । बहालवाला न्यायाधीशले समेत प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दर्ताभएको सचिवालयले जनाएको छ ।
अधिकांश उजुरीमा कार्कीको दलीय आबद्धता रहेको आरोप लगाइएको छ । कार्की प्रधानन्यायाधीश भएको खण्डमा समेत असारमा नियुक्ति पाएर साउनमा कार्यकाल सकिने भएकाले कार्कीले राज्यबाट पाउने सुविधाको लोभ गरेको आरोप समेत उजुरीकर्ताहरुले लगाएका छन् ।
कार्कीलाई गत वैशाख १५ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । कार्कीविरुद्धको उजुरी खोल्न भोलि सुनुवाइ समितिको बैठक बोलाउने तयारी भएको समितिको सचिवालयले जनाएको छ ।