महाशक्तिपीठका रुपमा मानिएको महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित संसारीमाईको महापूजा जारी रहेको छ ।
गत शुक्रबारदेखि नै विभिन्न अनुष्ठानका साथ सुरु भएको संसारीमाईको सप्ताहव्यापी पूजा विधिको आज अन्तिम दिन बलि प्रदान गरेसँगै समापन हुने छ ।
संसारीमाईको पुजारी महेन्द्र मुखियाले पञ्चबलि आज दिउँसो ३ बजेबाट सुरु हुने जानकारी दिनुभयो । जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले संसारीमाईको पूजा जारी रहेको बताउनुभयो । प्रत्येक पाँच वर्षमा एक पटक मात्रै हुने संसारीमाईको यस वर्षको पूजाविधि गत शुक्रबारदेखि विधिवत् सुरु भएको थियो ।
महापूजाको अन्तिम दिन आज पशु पंक्षीको बलिपश्चात् पूजा समापन हुने संसारीमाई पूजा समितिका अध्यक्ष अशोककुमार साहले बताउनुभयो ।
सप्ताहव्यापी महापूजाको पहिलो दिन गत शुक्रबार जलेश्वर नगरपालिका–२ स्थित बरुण सरोवरको पूर्वी दक्षिणी कुनाको डिलमा अवस्थित मन्दिरको सर सफाइ तथा विशेष जल (गङ्गाजलसहित) ले पखालेर शुद्धीकरण गरिएको थियो । सोही दिन जलेश्वर नगरभरि नै सरसफाइ तथा शुद्धीकरण कार्यक्रम गरिएको थियो । सरसफाइ कार्यक्रममा श्रद्धालु भक्तजनका सरिक भएका थिए ।
अनादिकालदेखि नै अपार शक्ति एवं आस्थाको केन्द्र मानिएको प्रसिद्ध शक्तिपीठ संसारीमाईको महापूजाको सप्ताह व्यापी कार्यक्रमअन्तर्गत दोस्रो दिन शनिबार कलश शोभायात्रा गरिएको थियो ।
कलश शोभायात्रामा हजारौँ कुमारी कन्याद्वारा कलश लिएर जलेश्वर नगरभरि शोभा यात्रा गरिएको थियो । शोभा यात्रामा बाजागाजा, नाचगान, भजनकीर्तन र हजारौँ भक्तजनको सहभागिता रहेको थियो ।
त्यसैगरी महापूजाको तेस्रो दिन आइतबार माता संसारीको मन्दिर प्राङ्गनमा महापाठ (शक्ति स्वरुपा भगवतीको पाठ) गरिने कार्यक्रम गरिएको थियो ।
त्यसैगरी महापूजाको चौथो दिन माता संसारीको नगरीमा रहनुभएका बाबा जलेश्वरनाथ (नगर देवता) को मन्दिरमा लखराम पूजा गरिएको संसारीमाई महापूजा समितिका अध्यक्ष साहले बताउनुभयो ।