सुख्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाअन्तर्गत दूधकोशीको पानी भुम्जुडाँडामा पु¥याउने प्रयास सफल भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लुलिमाबाट बिहीबार दिउँसो वडा नं २ डिकुवास्थित भुम्जुडाँडामा सफलतापूर्वक पु¥याइएको हो ।

दूधकोशीबाट एक सय ५० एमएमको फलामे पाइपमार्फत चार हजार पाँच सय मिटरमाथि रहेको भुम्जुडाँडामा पु¥याउने प्रयास सफल भएको सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख इन्जिनियर हिराकाजी महर्जनले जानकारी दिनुभयो ।

“दूधकोशीबाट छ लिफ्ट ट्याङ्की हुँदै भुम्जुडाँडामा बनाइएको सातौँ ट्याङ्कीमा पानी पु¥याउने सफल भइएको छ । भुम्जुडाँडामा पानी निकाल्ने प्रयासको सफल परीक्षण भएसँगै स्थानीयमा उत्साह जगाएको छ”, उहाँले भन्नुभयो, “दूधकोशीबाट पानी लिफ्ट गरेर नगरपालिकाका सात वडाका कम्तीमा तीन हजार सात सय ५६ घरधुरी उपभोक्तालाई वितरण गर्ने लक्ष्य राखिएको छ । अब त्यो लक्ष्य चाँडै पूरा हुने अवस्थामा पुगेको छ ।”

बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाका लागि नदी किनारमा तीन लाख क्षमताको एउटा र भुम्जुडाँडामा चार लाख लिटर क्षमताको तीन वटा ट्याङ्की बनाइएका छन् । त्यसको बीच भागमा पर्ने विभिन्न पाँच ठाउँमा एक–एक लाख लिटर क्षमताका लिफ्ट ट्याङ्की निर्माण गरिएको जनाइएको छ ।

दूधकोशीको पानीलाई डिकुवाको भुम्जुडाँडा र वडा नं ७ महादेवस्थानको काभ्रेडाँडामा पु¥याएर वितरण गर्ने लक्ष्यका साथ विसं २०७४ देखि लिफ्टिङ खानेपानी आयोजनाको काम अघि बढाइएको थियो । दूधकोशीको लुलिमाबाट भुम्जुडाँडा र महादेवबेँसीबाट काभ्रेडाँडामा लिफ्ट गरेर पानी पु¥याएर मेनलाईनको ठेक्का दिवा–महादेव–खिम्ती जेभीले धमाधम गरिरहेको छ ।

महादेवबेँसीबाट काभ्रेडाँडामा पानी पु¥याउनका लागि पम्प जडानको काममात्र बाँकी रहेको आयोजना प्रमुख महर्जनले बताउनुभएको छ । भुम्जुडाँडामा पु¥याइएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने वितरणलाइनको ठेक्का लामा कन्ट्रक्सन र काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मङ्गलटारमा वितरण गर्ने कामको ठेक्का रमन–सगरमाथा–घिमिरे जेभीले लिएको छ ।

हलेसी बृहत् पम्पिङ खानेपानी आयोजनाको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन)मा ट्रिटमेन्ट प्लान्ट (प्रशोधन केन्द्र)का स्किम छुट भएकाले पुनः स्टिमेट गरेर मन्त्रालय पठाइएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले जनाएको छ । कार्यालय प्रमुख महर्जनका अनुसार ट्रिटमेन्ट प्लान्टका लागि जग्गा व्यवस्था गरेर रु १९ करोड ९५ लाखको लागत अनुमान पेश गरिएको हो ।