बागलुङ-जनताधन माविमा कक्षा १० मा अध्ययनरत नीरज कार्कीले बुधबार एक सार्वजनिक कार्यक्रममा आफ्नो जिज्ञासा राख्दै भन्नुभयो, “दक्षिण एसियाकै एउटा देशले चुरोटलाई निषेध गरेको छ, हाम्रो देशले किन त्यसो नगर्ने ?” उहाँले राखेको धारणाको विषयमा जवाफ दिने निकाय त्यहाँ थिएन तर, उहाँले लागुऔषध दुरुपयोगको प्रस्थान विन्दु धूम्रपान हो भन्ने थाहा पाएपछि यो विषय राख्नुभएको हो ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानमा राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले आयोजना गरेको उपभोक्ता शिक्षा तथा लागुऔषध दुव्र्यसनीसम्बन्धी सचेतना कार्यक्रममा प्रहरी नायब उपरीक्षक मदन केसीले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयोे । लागुऔषधबारे उहाँले केहीबेर चर्चा गरेपछि विद्यार्थीले प्रश्न गरे । धेरैको चिन्ता थियो न्यून आय भएका परिवार र अनाथ बालबालिकालाई कसरी लागुऔषधबाट जोगाउने ? लागुऔषधमा लाग्नै नपर्ने वातावरण समाजले किन तयार नगर्ने ?

विद्यार्थी, अभिभावक र शिक्षक सहभागितामा उपभोक्ता शिक्षा र लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यपत्र प्रस्तुतीपछि विद्यार्थी छलफलमा सहभागी भए । विद्यार्थीले कसैले नेपालमा कानुनीरुपमा धूम्रपानलाई निषेध गर्नुपर्ने माग गरे भने कसैले बधशाला निर्माण गरेर शुद्ध मासुजन्य पदार्थको उत्पादन गर्न माग गरे ।

“विद्यार्थीले उठाएका विषय जायज छन्, तर कानुन बनेर नआउँदासम्म हामीले केही गर्न सक्दैनौँ”, प्रनाउ केसीले भन्नुभयो, “हामीले चेतना फैलाउने हो, कानुनअनुसार कसुरदार भए कारबाही गर्ने हो ।” भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका प्रमुख ऋषिराम सापकोटाले मासुको उपयोगका बिषयमा चर्चा गर्नुभयो । “मासु परम्परागत रुपमा प्रयोग गरिरहेका छौँ, कतिपय तरिका वैज्ञानिक छन्, कतिपय सुधार गर्नुपर्ने” सापकोटाले भन्नुभयो “के बुझ्न जरुरी छभने मासु हाम्रा लागि जसरी उपयोगी खाद्यान्न हो त्यसैगरी सङ्क्रामक कीटाणुको खाना हो ।” सङ्क्रामक रोगको रुपमा रहेको मासुलाई विवेकपूर्ण प्रयोग गर्नुपर्ने उहाँको धारणा थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले लागुऔषध दुव्र्यसनी र उपभोक्ता सचेतना घर घरमा पुग्नुपर्ने बताउनुभयो । खड्काले विद्यार्थी सूचनाको संवाहक भएको भन्दै सकारात्मक सन्देश समुदायमा फैलाउन आग्रह गर्नुभयोे । उहाँले विद्यार्थीमा रहेको चासो लागुऔषध दुव्र्यसनीमा प्रतिवादी बन्ने बताउनुभयो । बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले परिवार र समुदायको हेलचक्य्राइँँ पनि लागुऔषध दुव्र्यसनी बढ्नुको कारण भएको बताउनुभयो ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख प्रेम अर्यालले खाद्यसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।