तस्वीरः पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी ।

काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको काठमाडौं जिल्ला अदालतमा भइरहेको थुनछेक बहस आज पनि हुँदैछ । आज शुक्रबार एमालेका निलम्बित सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको तर्फबाट थुनछेक बहस हुँदैछ ।

यसप्रकरणका अभियुक्तहरुविरुद्धको थुनछेक बहस आइतबारदेखि सुरु भएको थियो । आइतबारबाट सुरुभएको बहसमा तीन दिनमा आठ जना सरकारी वकिलहरुले बहस गर्नुभएको थियो । सरकारी वकिलहरूले प्रत्येक प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राख्नु पर्ने माग गर्दै बहस गर्नुभएको थियो । सरकारी वकिलहरुकोे बहस मङ्गलबार सकिएको र बुधबारबाट अभियुक्तहरूको बसह सुरु भएको थियो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा राज्य शक्तिको दुरुपयोग गर्दै मानव बेचविखन, ठगीजस्ता अपराध गरेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । यस प्रकरणका मुख्य योजनाकार र विचौलिया विरुद्ध यतिबेला काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ । अभियुक्तहरूको तर्फबाट आज तेस्रो दिन पनि थुनछेक बहस हुँदैछ ।

आज हुने थुनछेक बहस पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीको हुँदैछ । पूर्वउपप्रधानमन्त्री रायमाझी र उनका छोराको प्रतिरक्षामा पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमेश बडालसहितको टोलीले बहस गर्नुहुनेछ । टोपबहादुरले सहभियुक्त सानु भण्डारीबाट नेपाली नागरिकलाई भुटानी शरर्णार्थी बनाई अमेरिका पठाउन १ करोड ६० लाख लिएको अभियोगपत्रमा दाबी छ । त्यस्तै भण्डारीबाटै उनका छोरा सन्दीपले ४० लाख लिइको दावी गरिएको छ ।

यस प्रकरणमा ३० जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले ठगी, किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दर्ता भएको छ । प्रहरी हिरासतमा रहेका अभियुक्तहरुको थुनछेक बहस सकिएपछि काठमाडौं जिल्ला अदालतले उनीहरुलाई कारागार चलान गर्ने कि थुनामुक्त गर्ने निर्णय गर्नेछ ।