फाइल तस्वीर
काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरुविरुद्ध अदालतमा थुनछेक बहस चलिरहेको छ । तीन दिनसम्म सरकारी वकिलहरुले बहस गरेपछि आज बुधबारबाट अभियुक्तहरुको तर्फबाट बहस भैरहेको हो ।

आज बुधबारदेखि उक्त प्रकरणका अभियुक्तहरुको पक्षबाट जिल्ला अदालत काठमाडौंमा थुनछेकमा बहस गरेका छन् । यो प्रकरणमा हिजो सरकारी वकिलको बहस सकिएको थियो । सरकारी वकिलको बहस सकिएपछि आज प्रतिवादीहरूको तर्फबाट बहस सुरु भएको हो ।

प्रतिवादी केशव दुलालको तर्फबाट बुधबार कानुन व्यवसायीहरु वरिष्ठ अधिवक्ता योगेन्द्र अधिकारी तथा अधिवक्ताहरू विकास भट्टराई, विकास थापा, विश्वास आचार्य, नरबहादुर योगी र राजन भट्टराईले बहस गर्नुभएको छ । कानुन व्यवसायीहरुले दुलालमाथि लगाइएको आरोप केवल आरोपमात्रै भएको जिकिर गर्नुभएको छ । दुलाल पक्षमा बहस गर्नुहुने कानुन व्यवसायीहरुले आपैंm नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान चाहेकाले उनी स्वयं पीडित भएको तर्क गर्नुभएको थियो ।

कानुन व्यवसायीहरूले दुलाललाई साधारण तारेखमा नभए समान्य धरौटीमा रिहा गर्नुपर्ने माग गर्नुभयो । दुलालमाथि लगाइएको अभियोग कुनै पनि तथ्य र आधारले पुष्टि नभएकाले उनी साधारण तारेखमा नभए सामान्य धरौटीमा रिहा हुनुपर्ने उनीहरूको माग छ ।

आजै अर्का अभियुक्त सानु भण्डारीको तर्फबाट अधिवक्ता विनोद शर्माले पनि बहस गर्नुभयो । भण्डारीको तर्फबाट शर्माले मात्र बहस गर्नुभएको थियो । उनले सरकारी वकिलको जिकिर र प्रहरीको अनुसन्धानमाथि प्रश्नै प्रश्न उठाउनुभएको छ ।

उनले इजलासमा शरणार्थी प्रकरण पनि ३३ किलो सुनकाण्ड जस्तै हुने त होइन ? भनी प्रश्न गर्नुभयो । मुख्य व्यक्ति छाड्ने र अरु मात्रै फस्ने काम गर्न नहुने उनको तर्क थियो ।

पक्राउ परेका अभियुक्तहरूबाट एक रूपैयाँ पनि नभेटिएको भन्दै शर्माले इजलासमा उनले २८ करोडको लेखाजोखा खोइ भनेर पनि प्रश्न गर्नुभएको थियो । यो मुद्दामा २८ करोडको बिगो दाबी गरिएको छ । शर्माको बहस सकिएपछि अहिले चिया ब्रेक भएको छ । त्यसपछि अरुले बहस गर्नेछन् ।