तस्वीरः
काठमाडौं — नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहका मुख्य योजनाकारसहित सङ्गठित गिरोहका अभियुक्तहरुका कानून व्यवसायीहरुले आज बुधबारबाट बहस गर्नेभएका छन् । यस प्रकरणमा सरकारी वकिलका तर्फबाट हिजो मङ्गलबार थुनछेक बहस सकिएपछि आज बुधबारबाट अभियुक्तहरुको तर्फबाट थुनछेकमा बहस सुरुभएको हो ।

यस प्रकरणका कुल ३० आरोपीहरुमध्ये अहिलेसम्म पक्राउ परेका सबै १८ जना अभियुक्तहरुको बयान सकिएपछि २१ गते आइतबारदेखि थुनछेक बहस सुरुभएको थियो । काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलहरुले तीन दिनसम्म थुनछेकको बहस गरेपछि आजदेखि अभियुक्तका तर्फबाट कानून व्यवसायीहरुले बहस सुरुभएको छ ।

आज सुरुमा पीडितपक्षका कानुन व्यवसायीहरूले बहस गर्नेछन् । उनीहरुले बहस गरेपछि प्रतिवादीका तर्फको बहस सुरुहुनेछ ।
पीडित पक्षका कानुन व्यवसायीहरुले थुनछेकको बहस जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भइरहेको छ थुनछेकको बहस यही जेठ ३१ गते बिहीबारसम्म जारी रहने र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने या नपठाउने भन्नेबारेमा निर्णय हुने भनिएको छ ।

यस प्रकरणमा एमालेका सांसद् एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, काङग्रेस केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सरकारका सचिव (निलम्वित) टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, संविधानसभाका सदस्य एवम् काङग्रेसका नेता आङटावा शेर्पा, हज समितिका अध्यक्ष एवम् एमालेका नेता शमशेर मियाँसहितका विरुद्ध राज्यविरुद्धको अपराध, मानव बेचविखन, ठगीलगायतका मुद्दाहरु दर्ता भएका छन् ।

सोही प्रकरणका योजनाकार मानिएका केशव दुलाल, सानु भण्डारीसहित बिचौलियाहरु टोपबहादुर रायमाझीका छोरा सन्दीप, सन्देश शर्मा, पूर्ववडाध्यक्ष सागर राई, टङ्क गुरुङ, रामशरण केसी, बालकृष्ण खाणका पिए नरेन्द्र केसी, गोविन्द चौधरी, लक्ष्मी महर्जन, हरिभक्त प्रधान गरी १८ जना पक्राउ परेका छन् । पक्राउ परेका सबैलाई हिरासतमा राखिएको छ ।