फाइल तस्वीर

गोदावरी – भूस्वर्ग मानिने सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र खप्तडमा आज अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आयोजना गरिएको छ । आजदेखि तीन दिनसम्म चल्ने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने भएको हो ।

सम्मेलनका लागि मूल आयोजक समितिका संयोजक एवं प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको मन्त्री टोली र पतञ्जली योगपीठ हरिद्वारका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण खप्तड क्षेत्रमा पुगिसक्नुभएको छ । सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेव पनि आउनुहुने बताइएको छ ।

सम्मेलनको तयारीका लागि प्रदेशका मुख्यमन्त्री शाहको संयोजकत्वमा चार सय एक सदस्यीय सम्मेलन मूल तयारी समिति र अन्तर्गत विभिन्न १२ उपसमिति गठन गरिएको छ ।

प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा पहिलो पटक यस्तो सम्मेलन हुन लागेको हो। समुद्री सतहबाट झन्डै तीन हजार दुई सय मिटरको उचाइमा रहेको खप्तड क्षेत्र प्रकृति, पर्यटन, आध्यात्मिक लगायतका दृष्टिले महत्त्वपूर्ण रहेको मानिन्छ ।

सुदूरपश्चिमका डोटी, बझाङ, बाजुरा र अछामको सङ्गम क्षेत्रका रूपमा रहेको यो क्षेत्रमा खप्तडबाबाले पाँच दशकसम्म साधना गरेका थिए । यो क्षेत्रमा खप्तडबाबाको कुटी, सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ झोती (टापु) लगायतका आकर्षक संरचना छन् । बहुमूल्य जडीबुटी पनि पाइन्छन्। खप्तड राष्ट्रिय निकुञ्ज पनि रहेको यो क्षेत्र झन्डै दुई सय २५ वर्ग किलोमिटरमा फैलिएको छ ।

आध्यात्मिक पर्यटनको प्रवर्द्धन गर्दै प्रदेशको समग्र विकासमा टेवा पु¥याउने उद्देश्यले यो सम्मेलन हुन लागेको हो । सुदूरपश्चिम देवभूमि र तपोभूमिका रूपमा सदियौँदेखि परिचित पनि छ भन्ने सन्देश दिन पनि यो सम्मेलन गर्न लागिएको हो ।