तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकको विषयमा विवाद गरिरहनुको कुनै औचित्य नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आज सोमबार बसेको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आफ्नो र सत्ता गठबन्धनको बुझाई मात्रै संसदमा राखेको हुँदा विवाद गरिरहनुको औचित्य नभएको बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले ‘हामीले यो विषयमा धेरै विवाद गरिहनुको औचित्य छैन पनि त भनेको थिएँ । म माननीय सदस्यलाई विनम्रतापूर्वक लाइन लगाएर प्रक्रियाको कुरा गरेको भनेर भन्नुभयो । लाइन लगाएर तपाईंहरुले राखेपछि विधेयकको बारेमा सत्ता गठबन्धनको बुझाई त राख्नुपर्यो । मैले त्यो भन्दा बढी गरेको होइन्’— प्रष्टीकरण दिनुभयो ।
सरकारको तर्फबाट राष्ट्रपति कार्यालयमा त्यो विधेयक पुगेको छ भनेर जानकारी मात्र दिएको प्रधानमन्त्रीको भनाइ थियो । ‘मलाई भन भन भन्नुभयो तपाईंहरुले । यो विधेयकबारे सरकारले राष्ट्रपतिलाई जानकारी दियो । यो पहिल्यै दुइवटै सदनबाट पारित भएर आएको हो, तपाईंको दराजमा होला हेर्नुस् त, तपाईंले प्रमाणीकरण गर्न मिल्छ भनिएन भने र फेरि यहाँ प्रस्तुत गरियो भने के हुन्छ?’ प्रधानमन्त्रीले भन्नुभयो ।
‘संवैधानिक परिषद्ले हामीले प्रक्रिया पूरा गर्यौं, उहाँले फेरि होल्ड गरिदिनुभयो, हुन्छ के हालत ?’ प्रधानमन्त्रीले प्रतिप्रश्न गर्दै भन्नुभयो — ‘अर्को राष्ट्रपतिले पनि फेरि दराजमै हालिदिनुभयो भने के हुन्छ? एक पटक बुझौं, भोलि के नजिर बस्छ ?’
सरकारको तर्फबाट यसलाई सुचारु गर्नका लागि भूमिका खेल्दै आएको बताउँदै विवाद चर्काउन नचाहेको प्रधानमन्त्रीले बताउनुभयो । ‘दुवै सदनबाबट दुई पटक पारित भएर राष्ट्रपतिकोमा गएको, राष्ट्रपतिले होल्डमा राखेको विधेयकको हैसियत के हुन्छ ? भनेर संविधानले प्रष्ट रुपमा केही पनि भनेको छैन,’ प्रधानमन्त्रीले भन्नुभयो ।