फाइल तस्वीरःराष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनाल।
काठमाडौं — प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालले प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किदा भारतबाट भैसी चढेर फर्केको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सांसद् खनालले अमर्यादित शब्द प्रयोग गर्दै यस्तो अभिव्यक्ति दिनुभएको हो ।

सांसद खनालको अपर्यादित भाषाप्रति सत्तापक्ष र विपक्षी दलका सांसद्हरुले एकपछि अर्को नियमापत्ति जनाए पछि बैठकको नियमित काम अवरुद्ध बन्न पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भम्रण, नागरिताको विषयमा बोलेपछि सांसदहरुले प्रश्न सोध्ने क्रममा विवाद भएको हो ।

रास्वपाका सांसद् खनालले प्रधानमन्त्रीले भारतबाट भैसी चढेर फर्केको भनेपछि संसद्मा हङ्गामा भएको थियो । माओवादी केन्द्रका सांसद हितराज पाण्डेले सांसद् खनालले बोलेको शब्द संसद्को रेकर्डबाट हटाउन आग्रह गर्दै नियमापत्ति जनाउनुभयो । हितराज पाण्डेले नियमापत्ति जनाएपछि एमाले सांसद योगेश भट्टराईले पनि नियमापत्ति जनाउनुभएको थियो ।

संसदमा सो विषयमा विवाद भएपछि सभामुख देवराज घिमिरेले अमार्यादित शब्द नबोल्न आग्रह गर्दै सो शब्द संसद्को रेकर्डबाट हटाउन रुलिङ गर्नुभएको छ ।