तस्वीरः प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबीच संवाद ।
काठमाडौं — सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरोध हटाइ बैठक सुचारु गर्न छलफल थाल्नुभएको छ । संसदमा देखिएको अवरोध हटाउने विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ ।

चालु अधिवेशन बजेट अधिवेशन भएकोले बजेटमाथि छलफल गरी पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न प्रधानमन्त्रीलाई सभामुख घिमिरेले सुझाउनु भएको छ ।

हिजो आइतबारको प्रतिनिधिसभा बैठकलाई एमालेसहितका विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग टेलिफोन संवाद गर्नुभएको थियो । प्रधानमन्त्रीलाई सरकारको तर्फबाट सदनको अवरोध हटाउन सभामुखले आग्रह गर्नुभएको थियो ।

सभामुख घिमिरेले प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन व्यतित भइसकेको छ । अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ भन्नुहुँदै सदनको अवरोध हटाउन समयमै संवाद गरेर निकास खोज्न प्रधानमन्त्री प्रचण्डलाई सुझाउनुभएको छ ।

सभामुखसँगको संवादमा प्रधानमन्त्री प्रचण्डले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै आज सोमबारको बैठकमा आफूले प्रस्टीकरण दिने जानकारी गराउनुभएको थियो ।

सभामुखसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले ‘म एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विपक्षी दलहरुसँग पनि कुरा गर्छु, सरकारका तर्फबाट लचकता र पहल हुन्छ’— भन्नुभयो ।

सभामुखले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीमार्फत् विपक्षी दलहरुलाई बजेट पारित गर्ने समयसीमा बुझिदिन आग्रह गर्दै सदन सुचारु गर्न जोड दिनुभएको छ ।

यद्यपि, प्रमुख प्रतिपक्षी दल एमालेसहितका अन्य विपक्षी दलहरु सहजै संसद् बैठक सञ्चालन गर्ने मनस्थितिमा देखिंदैनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजै संसद् चल्न नदिने बताइसक्नुभएको छ ।

संसदबाट बजेट पास गर्न नदिने रणनीतिमा विपक्षी दलहरु देखिएका छन् । बजेट फेल गराएर सरकारलाई असफल बनाउने र प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई सत्ताच्यूूत गराउनेसम्मको रणनीति बन्ने सम्भावना देखिंदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले र काङ्ग्रेसका ठूला नेताहरुको संलग्नता रहेको हुँदा उक्त प्रकरणलाई ओझेलमा पार्ने रणनीतिक रुपमा पनि सदनको काम कारवाहीलाई विपक्षी दलले अवरोध गर्ने त्यतिकै सम्भावना देखिन्छ ।