तस्वीरः प्रतिनिधिसभाको हिजोको बैठक अवरुद्ध गर्दै विपक्षी दलका सांसदहरू ।

काठमाडौं — सङ्घीय संसदको दुवै सदनको बैठक बस्दैछ । आज सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएको हो ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सार्वजनिक गरेको बजेटमाथि छलफल गर्न बसेको हिजोको बैठक प्रमुख प्रतिपक्षी एमालेसहितका विपक्षी दलहरूले सदन अवरुद्ध गरेपछि हिजो प्रतिनिधिसभाको बैठक नै स्थगित हुन पुगेको थियो ।

नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा दिनुभएको अघिव्यक्तिप्रति कटाक्ष गर्दै हिजो एमालेसहितका विपक्षी दलहरूले सदनमा नाराबाजी गर्दै संसद् बैठक अवरुद्ध गरेका थिए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसदहरुको नारावाजीपछि एक घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो । सभामुखसहित दलहरूबीच सदन सुचारु गर्ने विषयमा सहमति जुट्न नसकेपछि हिजो आईतबारको बैठक सुचना टाँसगरी स्थगित भएको जानकारी गराइएको थियो ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा बैठक आज सोमबार ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभा बैठक भने दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठक सञ्चालनका लागि आज प्रतिनिधिका सभामुखले दलहरूसँग छलफल गर्नुहुने भएको छ । छलफल पछिमात्र बैठक सञ्चालन हुने नहुने यकिन हुनेछ ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत १५ गते अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि आय व्यय विवरण सहित सरकारको कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । अर्थमन्त्री महतले प्रस्तुत गर्नुभएको बजेटमाथि छलफल गर्ने तयारी गरिएको छ । यद्यपि, हिजोको बैठक स्थागित भएपछि सदनबाट बाहिर निस्कँदै गर्दा प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सदन चल्न नदिने अभिव्यक्ति दिनुभएको थियो ।

नेपाली संसदीय व्यवस्थाको इतिहासलाई हेर्दा जब जब एमाले प्रतिपक्षमा रहन्छ तब तब संसद्का बैठकहरु अवरद्ध हुने गरेका छन् । एमालेले अघिल्लो पटकको संसदलाई ५७ दिनसम्म बन्धक बनाएको थियो । राष्ट्र, राष्ट्रियता र जनजीविकाका मुद्दालाई जोडेर संसद् अवरुद्ध गर्ने, तर दलगत स्वार्थमा सहमति भएपछि संसद् सुचारु गर्ने प्रवृत्तिले प्रमुख प्रतिपक्षी दल एमालेको चरित्र हलो अड्काएर गोरु चुट्ने जस्तै रहेको राजनीतिक टिप्पणीकारहरुको विश्लेषण छ ।

सदन अवरुद्ध गर्नुमा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणलाई ओझेलमा पार्न र थप अनुसन्धानलाई प्रभावित बनाउन पनि रणनीतिक खेल हो कि भन्ने एकाथरीले विश्लेषण छ ।