तस्वीरः प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओली ।
काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सङ्घीय संसद् चल्न नदिने सङ्केत गरेको छ । एमाले पार्टीका अध्यक्ष समेत रहनुभएका संसदीय दलका नेता खड्गप्रसाद शर्मा ओलीले नेपालको समग्र हितको रक्षा नहुँदासम्म सदन चल्न नदिने बताउनुभएको छ ।
आईतवार बसेको प्रतिनिधिसभा बैठक अवरोधपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसदको गतिरोध हट्ने बताउनुभएको छ ।
प्रमुखप्रतिपक्षी दलका नेता ओलीले ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हितको रक्षापछि मात्रै यो व्यवस्थापन हुन्छ’ भन्नुभयो ।
संसद् सचिवालयले भने आजको बैठक स्थगित भएको र भोलि सोमबार बिहान ११ प्रतिनिधिसभाको बैठक बस्ने सूचना टाँसेको छ । एमालेका नेता ओलीले सञ्चारकर्मीलाई दिनुभएको अभिव्यक्तिले भोलिको संसद बैठक पनि अवरुद्ध हुने देखिएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि सार्वजनिक गरेको बजेटमाथिको छलफल प्रभावित हुने देखिएको छ । विभिन्न बहाना झिकेर संसद् अवरुद्ध गर्ने र सरकारलाई विफल बनाउने रणनीतिमा एमालेसहितका विपक्षी दलहरुको रणनीति रहेको देखिन्छ ।