फाइल तस्वीर: काठमाडौं जिल्ला अदालत ।
काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु भएको हो ।

सरकारी वकिलहरुले आज जाहेरीकर्ताको तर्फबाट बहस सुरु गरेका छन् । जाहेरीकर्ताको तर्फबाट न्यायाधीश न्यौपानेको इजलासमा तीन दिन बहस हुनेभएको छ । न्यायाधीश न्यौपानेका अनुसार सरकारी वकिललाई तीन दिन र प्रतिवादीका वकिललाई छ दिनको समय उपलब्ध हुनेछ । न्यायाधीश न्यौपाने अभियुक्तहरुको मुद्दाको थुनछेक बहस सकेर अर्को साताको बुधबार आदेश सुनाउने बताउनुभयो ।

उक्त प्रकरणमा अहिलेसम्म मुख्य योजनाकारसहित १८ जनाविरुद्ध आजदेखि थुनछेक बहस सुरु भएको हो । सो थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा अर्कोसाता आदेश हुनेभनिएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने मुख्य योजनाकार केशव दुलाल, सानु भण्डारीसहित एमालेका सांसद् एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्र जित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत १८ जनासँग काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यौपानेलगायतले बयान लिनुभएको थियो । सबैसँग बयान लिने काम शुक्रबारमात्रै सकिएको थियो ।

उक्त प्रकरणमा गिरफ्तार गरिएका १८ जनासहित फरारहरुगरी सबै ३० जनालाई सङ्गठित अपराध, किर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चार वटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दावीसहित काठमाडौँ जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो ।