तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको आफ्नो औपचारिक भ्रमण सफल भएको बताउनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चार दिने औपचारिक भ्रमण पुरा गरी हिजोसाँझ स्वदेश फर्कनुभएका प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिंदै भ्रमण सफल भएको प्रतिक्रिया दिनुभएको हो ।


प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीलाई भ्रमणको उपब्धिका विषयमा जानकारी दिँदै विगतका भ्रमणभन्दा फरक, परिणाममुखी र भविष्यका लागि मार्गदर्शक बनेको दावीसमेत गर्नुभयो ।

प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच रहेको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभका आधारमा थप मजबुद बनाउन यस भ्रमणले योगदान गरेको चर्चागर्दै ‘भारतका प्रधानमन्त्री मोदीसँग खुलस्त कुरा भएपछि विश्वासको वातावरण सिर्जना भएको र थाँती रहेका विषयलाई सम्बोधन गर्न सकिने विश्वासको राम्रो आधार तय भएको छ’ भन्नुभयो ।


‘विगतको भ्रमणभन्दा मैले फरक पाएको छु । सारभूत रूपमा यो भ्रमण परिणाममुखी र भविष्यका लागि स्पष्ट मार्ग निर्देशन गरेको छ’— प्रधानमन्त्रीले सञ्चारकर्मीहरुलाई जानकारी दिनेक्रममा भ्रमण परिणाममुखी र भविष्यका लागि स्पष्ट मार्ग निर्देशन गरेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भ्रमणमा विभिन्न सात दस्तावेजमा हस्ताक्षर भएको थियो । नेपाल र भारतबीच नेपाल–भारत पारवहन सन्धि, पेट्रोलियम पूर्वाधार निर्माणसम्बन्धी समझदारीपत्र, दोधारा–चाँदनीमा एकीकृत जाँचचौकी तथा सुक्खा बन्दरगाहको निर्माण सम्बन्धमा समझदारीपत्र, फुकोट–कर्णाली चार सय ८० मेगावाट जलविद्युत् परियोजना विकाससम्बन्धी समझदारी पत्र, तल्लो अरुण छ सय ६९ मेगावाट जलविद्युत् परियोजनासम्बन्धी परियोजना विकास सम्झौता, नेपालको नेशनल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट कम्पनी इण्डिया लिमिटेडबीच सीमापार विद्युतीय भुक्तानीसम्बन्धी समझदारीपत्र, नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान लगायतका विषयमा समझदारी भएका थिए ।

त्यसका अतिरिक्त व्यापार, पारवाहन, लगानी प्रवर्द्धन, ऊर्जा व्यापार तथा क्रस बोर्डर ट्रान्समिसन लाइन, सिँचाइ, बाढी तथा डुबान नियन्त्रण, कृषि, सीमापार सम्पर्कको कनेक्टीभिटी बढाउन, रेल्वे सेवा सञ्चालन कार्र्य, पुल निर्माण तथा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह जस्ता पूर्वाधार निर्माण कार्य अघि बढाउने विषयमा गम्भीर छलफल भएको प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरुलाई जानकारी गराउनुभएको थियो ।

“भारतीय आन्तरिक जल यातायात सञ्जाल प्रयोग गर्न सकिने र बल्क कार्गोसमेत ढुवानी गर्न सकिने गरी परिमार्जन भएको एवं विगत चार वर्षदेखि हुन नसकेको पारवहन सन्धि सम्पन्न भएको छ । यो एक महत्त्वपूर्ण उपलब्धि हो भन्न सकिन्छ”, उहाँले भन्नुभयो, “हवाई सेवालाई थप सुरक्षित बनाउन नेपालले अर्को हवाई प्रवेश मार्ग र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि इन्स्ट्र्मेन्टल ल्यान्डिङ सिस्टम (आइएलएस) सञ्चालन गर्ने प्रक्रिया सम्बन्धमा भारतीय पक्षको समझदारीका बारेमा छलफल भएको छ ।”

नेपालगञ्ज र भैरहवाबाट नयाँदिल्ली लगायतका भारतका अन्य सहरमा दुईतर्फी उडान गर्ने सम्बन्धमा सकारात्मक कुराकानी भएको उहाँले जानकारी दिनुभयो । सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले भारतीय प्रधानमन्त्री मोदीसँग कुर्था बिजलपुरा रेलमार्गको हस्तान्तरण, भारतको जोगबनीदेखि नेपालको विराटनगर कस्टम्स यार्डसम्म कार्गो रेल सेवाको सञ्चालन, भैरहवा–सुनौलीस्थित एकीकृत जाँच चौकीको शिलान्यास, नेपालगञ्ज–रूपैडियास्थित एकीकृत जाँच चौकीको उद्घाटन, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको निर्माण कार्यको शिलान्यास, बुटवल–गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको शिलान्यास संयुक्तरूपमा भर्चुअल माध्यमबाट उदघाटन र शिल्यान्यास गरेको जानकारी दिनुभयो ।

उहाँले जलविद्युत्का क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा बलियो सहमति निर्माण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “खासगरी दीर्घकालीन ऊर्जा व्यापार र भारतीय भूमि हुँदै बङ्गलादेशसम्म नेपालबाट जलविद्युत् निर्यातको सुरूआत गर्ने सैद्धान्तिक सहमति भई त्रिपक्षीय सम्झौताका लागि प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

भारतका प्रधानमन्त्रीले आगामी १० वर्षमा १० हजार मेगावाट जलविद्युत् नेपालबाट आयात गर्ने भारतको लक्ष्य रहेको बताउनुभएको छ । ऊर्जा व्यापारसम्बन्धी सम्झौता सबै हिसाबबाट सम्पन्न भएको र औपचारिकता दिन मात्र बाँकी छ, जुन छिट्टै हुँदैछ ।”

प्रधानमन्त्री दाहालले चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनासहित थप एक हजार दुई सय मेगावाट क्षमताका आयोजनाबाट भारततर्फ जलविद्युत् निर्यातका लागि भारतीय प्रधानमन्त्री मोदीलाई अनुरोध गरेको जानकारी दिनुभयो । उहाँले नेपालमा निर्माणाधीन जलविद्युत्, सडक जस्ता ठूला विकास निर्माण परियोजाका लागि अति आवश्यक विष्फोटक पदार्थको सहज र सरल आपूर्तिका लागि समेत छलफल भएको बताउनुभयो ।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको शीघ्र कार्यान्वयनका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) लाई अन्तिम रूप दिने गरी द्विपक्षीय छलफललाई तीव्रता दिने सहमति भएको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले वित्तीय प्रबन्धसहित दुई सरकारले डिपीआर स्वीकृत गरेपछि त्यसको एक वर्षभित्र कार्यान्वयनको ढाँचा टुङ्गो लगाइने बताउनुभयो ।

नेपालतर्फका संरचनाको तयारीको अवस्थाका आधारमा टनकपुर ब्यारेजबाट लिङ्क क्यानलमार्फत चरणबद्ध रूपमा नेपाललाई सिँचाइको लागि पानी उपलब्ध गराउने सहमति भएको उहाँले जानकारी दिनुभयो । नेपाल–भारत सीमावर्ती क्षेत्रमा बाढी र डुबानका समस्याका बारेमा पनि छलफल भएको जानकारी दिँदै उहाँले मनसुन सुरु हुनुअघि नै बाढी र डुबान नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन आवश्यक कदम चाल्नका लागि विद्यमान द्विपक्षीय संयन्त्रलाई तत्काल सक्रिय बनाउन सम्बन्धित अधिकारीहरूलाई भारतीय प्रधानमन्त्री मोदी र आफूले निर्देशन दिएकोसमेत बताउनुभयो ।

त्यसैगरी नेपालभित्र थप विद्युत् प्रसारण लाइन निर्माणका लागि एक्जिम बैंक इण्डियाबाट प्राप्त सहुलियतपूर्ण कर्जाको चौथो खण्डको रकम उपयोग गर्ने विषयमा भारतीय प्रधानमन्त्री मोदी सहमत हुनभएको प्रधानमन्त्री दाहालले बताउनुभयो । प्रधानमन्त्रीका अनुसार भारतको अनुदान सहयोगमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन चितवनसम्म विस्तार गर्ने र सिलिगुडीदेखि झापाको चारआलीसम्म नयाँ क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माण गर्ने विषयमा पनि दुवै पक्षबीच सहमति भएको छ । महाकाली नदीमाथि शिरसा (पर्शुराम धाम–पूर्णागिरि माई) तथा झुलाघाटमा भारत सरकारको अनुदान सहयोगमा पक्की पुल निर्माण गर्ने सहमति भएको छ ।

‘भारत सरकारको अनुदान सहयोगमा रामायण सर्किटअन्तर्गतका परियोजना, जिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेस र सुदूरपश्चिमको कैलालीमा नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी र चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको निर्माण कार्यअघि बढाउनेबारेमा पनि छलफल भएको छ’— प्रधानमन्त्रीले भन्नुभयो ।

पत्रकारसँगको अन्र्तक्रियामा उहाँले कृषि क्षेत्रमा क्षमता अभिवृद्धि, अर्गानिक खेती, प्राकृतिक कृषि प्रणाली, नानो फर्टिलाइजर जस्ता विषयमा आपसी सहयोग विस्तार, मलको सहज आपूर्ति, नगदे बाली र चौपायाको नश्ल सुधारका लागि सहायतालगायतका विषयमा समेत छलफलबारे जानकारी दिनुभयो । उहाँले नेपाली र भारतीय कम्पनीको संयुक्त लगानीमा नेपालमा रासायनिक मल कारखानाको सम्भाव्यता एवं बजारको सुनिश्चितताका बारेमा पनि छलफल गरेको बताउनुभयो ।

‘भारतीय बजारमा नेपालका कृषिजन्य उत्पादन र प्राथमिक वस्तुहरूको निर्यात सहजीकरणका लागि भारतीय प्रधानमन्त्रीसँग कुराकानी भएको बताउनुहुँदै प्रधानमन्त्री दाहालले भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको लागि निम्तो दिएकोसमेत जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहाल नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही जेठ १७ गते नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो । पदभार ग्रहण गरेपछिको प्रधानमन्त्री दाहालको यो पहिलो विदेश (भारत) भ्रमण हो । प्रधानमन्त्रीसँगै भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, अर्थमन्त्री डा प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल हुनुहुन्थ्यो ।

भारतभ्रमणका अवसरमा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू तथा उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।