तस्वीरः स्वदेश फर्किनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थहुँदै उहाँ स्पदेश फर्किनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेशमन्त्रालयका राज्यमन्त्री मिनाक्षी लेखी इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गर्नुभएको थियो ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता गर्नुको साथै प्रतिनिधिमण्डलस्तरीय छलफल समेत गर्नुभएको थियो । भ्रमणकै क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति दौपदी मुर्मू एवं उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्ड हिजो १९ गते भारतको मध्यप्रदेशस्थित इन्दौर सहरमा जानुभएको थियो । इन्दौरको फोहर व्यवस्थापनको बारेमा जानकारी लिनुका साथै विज्ञानप्रविधिसम्बन्धी क्षेत्रको अवलोकन गर्नुभएको थियो । प्रधानमन्त्री आजै इन्दौरबाट नयाँदिल्ली जानुभै त्यहाँबाट स्वदेश फर्किनुभएको हो ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा व्यापार सम्झौता, पारवहन सन्धि नवीकरण, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विभिन्न सम्झौता एवं समझदारी भएका छन् ।