तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
इन्दौर—भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्यप्रदेशको इन्दौरबाट आज नयाँदिल्ली फर्कनुभएको छ । विशेष विमानमार्फत् नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड आजै नयाँदिल्लीबाट स्वदेश फर्किदै हुनुहुन्छ ।
इन्दौरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा प्रधानमन्त्रीलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले बिदाई गर्नुभएको थियो । सो क्रममा मुख्यमन्त्री चौहानले भारत र नेपालबीच सदियौँ पुरानो सम्बन्ध रहेको र यसलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले आजै इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गर्नुभएको थियो । सो क्रममा उहाँले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गर्नुभएको । प्रधानमन्त्री दाहालले अवलोकनका क्रममा सो क्षेत्रमा सुनाखरीको बिरुवासमेत रोप्नुभएको थियो ।
प्रधानमन्त्री दाहाल शुक्रबार मध्यप्रदेशको इन्दौर पुग्नुभएको थियो । इन्दौरमा रहँदा उहाँले उज्जैनस्थित श्री महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्नुभएको थियो । उहाँले इन्दौरमा रहेको फोहर व्यवस्थापन केन्द्रको अवलोकन गर्नुभएको थियो ।
सो क्रममा इन्दौर नगर निगमको प्रमुख कार्यकारी अधिृकत हर्षिका सिंहले फोहर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो । स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर नगर निगमले फोहर व्यवस्थापनमा गरेको काम विश्वमै नमुनायोग्य मानिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू निर्वाचित भएपछि स्वच्छ भारत अभियान सुरु गर्नुभएको थियो ।
प्रधानमन्त्री दाहाल शुक्रबार मध्यप्रदेशका मुख्यमन्त्रीले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो । प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कने कार्यक्रम छ । उहाँ यही जेठ १७ गते भारतको औपचारिक भ्रमणमा जानुभएको थियो ।