तस्वीरः प्रधानमन्त्री प्रचण्ड र नेपालका सञ्चारकर्मीबीच भेटघाट कार्यक्रम ।
नयाँ दिल्ली — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण ऐतिहासिक रहेको बताउनुभएको छ । नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा आज बिहान नेपाली सञ्चारकर्मीहरुसँग कुरा गर्दा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
सोहीक्रममा प्रधानमन्त्री प्रचण्डले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको बताउँदै नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलिमय पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि दुई देशबीच विभिन्न समझदारी भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलविद्युत् क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले “जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्वपूर्ण आधार तयार भएको छ”, भन्नुहुँदै“नेपालको विद्युत् बङ्गलादेशसम्म निर्यात गर्नका लागि महत्वपूर्ण सहमति भयो”— दावी समेत गर्नुभयो ।
महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने विषयमा दुई देशबीच सहमति भएको जानकारी गराउँदै प्रधानमन्त्रीले “यीलगायत विभिन्न कारणबाट मेरो भारत भ्रमण महत्वपूर्ण रहेको र प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन पटक भएको ‘वान टु वान’ छलफलबाट यो सहमति भएको हो” बताउनुभयो ।
सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलोपटक प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । सीमामा देखिएका असमझदारी हटाउन गम्भीर भएर लागौँ भनेर आफूले प्रस्ताव गरेको उहाँको भनाइ छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा तथा जलविद्युत् विकास र व्यापार, पारवहन सम्झौताको पुनरावलोकन र नवीकरण, अन्तरदेशीय प्रसारणलाइन निर्माण, पेट्रोलियम पाइपलाइन निर्माण र विस्तार, एकीकृत जाँच चौकी निर्माण, महाकाली नदीमा पक्की पुल निर्माण, अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा यही जेठ १७ गतेदेखि भारतको औपचारिक भ्रमणमा हुनुहुन्छ । भ्रमणका क्रममा हिजो बिहीबार प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्ड आज मध्यप्रदेशको इन्दोर जाने कार्यक्रम छ । त्यहाँ रहँदा उहाँले मध्यप्रदेशका राज्यपालसँग भेटवार्र्ता तथा फोहोर व्यवस्थापन अभ्यासको अवलोकन गर्ने कार्यक्रम छ ।