तस्वीरः भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड ।
काठमाडौं — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले आज तेस्रो दिन धार्मिक अनुष्ठान कार्यक्रम रहेका छन् । प्रधानमन्त्री प्रचण्ड बिहान ११ बजे मध्य प्रदेशको उज्जैन पुग्नुहुने र १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने महाकालेश्वरको मन्दिरमा पूजाअर्चना गर्नुहुने छ ।

नेपालका प्रधानमन्त्री प्रचण्डको ‘अति विशिष्ट प्रोटोकल’ का कारण सुरक्षालाई दृष्टिगत गरी महाकालेश्वर मन्दिर दर्शनका निम्ति सर्वसाधारण नागरिकलाई करिब छ घण्टासम्म त्यहाँ प्रवेश गर्न निषेध गरिएको छ । प्रधानमन्त्री प्रचण्ड उक्त मन्दिरमा पूजाअर्जना गर्न जानुहुने भएकोले शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरूलाई प्रवेश निषेध गरिएको हो । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

त्यसबखत प्रधानमन्त्री प्रचण्डलाई मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्नुहुने छ । त्यसपछि प्रधानमन्त्री प्रचण्ड इन्दोर प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ ।