काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महात्मा गान्धीको समाधिस्थल पुग्नुभएको छ । चार दिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले राजघाटमा रहेको गान्धीको समाधिस्थल पुगेर पुष्पहार गर्नुभएको हो ।

आज नयाँदिल्लीको हैदरावाद हाउसमा प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने र भेटवार्तालगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यक्रम छ । उक्त भेटवार्ताका क्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची रहेको बताइएको छ ।

सो क्रममा सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने छ । उक्त पत्रकार सम्मेलनमा दुवै देशका प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।