फाइल तस्वीरः प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्ष नरेन्द्र मोदी ।

काठमाडौं — भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्रीबीच आज महत्वपूर्ण भेटवार्ता हुँदैछ । दुई देशका प्रधानमन्त्रीहरुबीच आज बिहीकार बिहान ११ बजे हैदरावाद हाउसमा भेटवार्ता हुने भएको हो ।

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चार दिने भ्रमणमा हिजो बुधबार नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आधा घण्टा भेटवार्ता हुनेछ कार्यक्रम रहेको छ ।

दुवै देशका प्रधानमन्त्रीको भेटवार्ता पछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदी सहभागी हुनुहुने बताइएको छ । प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।

आजै दिउँसो भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्नुहुने दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछन् ।

प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ ।

त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्तरुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

यसैगरी भारतका लागि नेपाली राजदूत शङ्करप्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि प्रधानमन्त्री प्रचण्डले आज नै भेटघाट गर्ने कार्यक्रम छ ।