फाइल तस्वीरःमहाराजगञ्जस्थित राष्ट्रपति कार्यालय
काठमाडौं — नागरिकता प्रमाणीकरणको विरोधमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रमाणीकरणको विरोध गर्न महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्न पुगेकामध्ये आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज बुधबार बिहान नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको थिए । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा शीतलनिवास अगाडि प्रदर्शन भएको थियो । नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा उत्रिएकाहरुले शीतलनिवास अगाडि नाराबाजी समेत गरेका थिए ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी रोकिराख्नुभएको थियो । संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । तर भण्डारीले विधेयकमा असहमति जनाउँदै ८ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाउनुभएको थियो ।

तात्कालीन शेरबहादुर नेतृत्वको सरकारले दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपति भण्डारी समक्ष पठाएको थियो । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति समक्ष पुगेको कुनै पनि विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने हुन्छ । उक्त विधेयकलाई दुवै संसद्बाट जस्ताको तस्तै पास गराई प्रमाणीकरणको निम्ति राष्ट्रपति कार्यालयमा पठाएता पनि त्यसलाई तात्कालीन राष्ट्रपतिले दराजमा थन्क्याएर राख्नुभएको थियो । सरकारको अनुरोधमा सोही विधेयकलाई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको हो ।