तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल ।
नयाँ दिल्ली — भारतको चार दिने औपचारिक भ्रमणमा निस्कन लाग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल वायुसेवा निगमको जहाजबाट नयाँदिल्ली जाँदैहुनुहुन्छ । उडान तालिका अनुसार प्रधानमन्त्री दाहाल नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ बजेर ५५ मिनेटमा अवतरण गर्नुहुनेछ ।
प्रधानमन्त्री दाहाल नयाँ दिल्ली पुग्नुभएपछि पहिलो भेट भारतीय समकक्षी नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । भोलि १८ गते बिहीबार बिहान भारतीय समकक्षी मोदी र प्रधानमन्त्री दाहालबीच औपचारिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।
प्रधानमन्त्री आज नेपाली समूदायका केही कार्यक्रमलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ भने आजै साँझ भारतस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको स्वागतमा रात्रि भोजको आयोजना गरेकोले सो कार्यक्रममा सहभागी हुनुहुने बताइएको छ । नेपाली दूतावासले प्रधानमन्त्रीको स्वागत र सम्मानमा रात्रिभोजको आयोजना गरेको हो । साँझ ७ बजेदेखि सुरु हुने रात्रिभोजमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । सो रात्रिभोजमा नेपाली समुदाय, कूटनीतिक क्षेत्र र मिडियाकर्मीलगायत सहभागी हुनेछन् ।
प्रधानमन्त्री दाहालका लागि पटेल मार्गस्थित होटल आईटीसी मौर्यमा बस्ने व्यवस्था मिलाइएको छ । प्रधानमन्त्रीसहित सरकारी ४४ जनाको टोलीलाई सोही होटमा बासको व्यवस्था मिलाइएको छ । सोही होटलमा डोभाल प्रधानमन्त्रीलाई भेट्न पुग्नुहुने भने सोअघि भारतीय विदेशसचिव विनयमोहन क्वात्राले प्रधानमन्त्रीलाई भेटगर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहालको उच्च्स्तरीय भेटवार्ता भने भोलि बिहीबारदेखि मात्रै सुरु हुनेछ ।