तस्वीरः एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली ।
काठमाडौं — प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी(एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मात्रै महिला अधिकारका लागि लड्ने दावी गर्नुभएको छ ।

राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा पार्टीको भातृ सङ्गठन अखिल नेपाल महिला सङ्घले आज राजधानीमा आयोजित ‘महिला अधिकार कार्यान्वयनमा अवसर र चुनौती’ विषयक राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो जिकिर गर्नुभएको हो । नेता ओलीले आफ्नो पार्टीले नै संसद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउने ऐतिहासिक निर्णय गरेको बताउनुभयो ।

राष्ट्रपति र उपराष्ट्रपतिमा पनि एक जना महिला हुनुपर्ने बताउँदै अध्यक्ष ओलीले यसपटक महिलालाई अवसर नदिएको भन्दै महिला अधिकारको हनन् भएको उल्लेख गर्नुभयो । एमाले अध्यक्ष ओलीले स्थानीय तहमा पनि गठबन्धनले साझा उम्मेदवार उठाउँदा दुई वटै पुरुष उठाएर अन्याय गरिएको बताउनु हुँदै समाजमा महिला र पुरुषमा समान अधिकार र समान हैसियत प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले मानिस मरिसकेपछि कसैले सम्झनुको अर्थ नहुने भन्दै आफ्नो सालिक नबनाउनसमेत आग्रह गर्नुभयो । “मरिसकेपछि किन सम्झिरहनु । बेकारमा सम्झिँदा मैले थाहा पाउने पनि होइन, त्यस कारण मेरो सालिक बनाउनु पर्दै, मूर्ति बनाउनु पर्दैन, स्मृति दिवस मनाएर खर्च गर्नुपर्दैन, मेरो धारणा त्यो हो ।”

उक्त कार्यक्रममा बोल्दै अखिल नेपाल महिला सङ्घका उपाध्यक्ष मेनुका पोखरेलले महिला अधिकारको पक्षमा अझै आन्दोलन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।