तस्वीरः माओवादी केन्द्रको संसदीय दलको बैठक ।
काठमाडौं — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको आज बसेको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भोलिदेखि हुने भारत भ्रमणबारे छलफल भएको छ । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा सो बारेमा छलफल भएको हो ।
माओवादी केन्द्रका सांसद्हरुले प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमण, सरकारद्वारा प्रस्तुत बजेट तथा सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानका बारेमा पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डसँग जिज्ञाशा राख्नुभएको थियो । बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्र संसदीय दलका नेता प्रचण्डले सरकारले सङ्घीय संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष२०८०/०८१ को बजेट सन्तुलित रहेको, अहिलेको राष्ट्रिय आवश्यकता सम्बोधन गर्ने खालको रहेकाले बजेटको प्रतिरक्षा गरेर जानुपर्ने बताउनुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रवद्र्धन तथा अनियमिताको अनुसन्धानमा सरकार स्पष्ट अडानका साथ जाने प्रतिबद्धता व्यक्त गर्नुहुँदै आफ्नो आसन्न भारत भ्रमणलाई जतिसक्दो उपलब्धिमूलक बनाउने र नेपाली जनतामा गलत सन्देश जाने गरी सरकारले कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ ।
संसदीय दलको बैठकपछि दलको कार्यालयमा बजेटसम्बन्धी अभिमुखीकरण भइरहेको छ । अभिमखुीकरणमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र सदस्य डा रामकुमार फुयाँलले सहजीकरण गरिरहनुभएको बताइएको छ ।