तस्वीरः टिकापुर घटनाका मुख्य योजनाकार मानिएका रेशम चौधरी ।
काठमाडौं – कैलालीको टिकापुर घटनाका मुख्य योजनाकार मानिएका रेशम चौधरीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसको उपलक्ष्यमा अन्य कैदीहरुसहित रेशम चौधरीलाई पनि बाँकी कैद आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा आज मङ्गलबार रिट निवेदन दायर भएको हो ।

टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले चौधरीको आममाफी सम्बन्धी निर्णय असंवैधानिक भएको भन्दै सवोच्र्चमा रिट दायर गर्नुभएको हो । सर्वोच्च अदालत प्रशासनका अनुसार आज दर्ता भएको रिटको भोलि बुधबारका लागि पेसी तोकिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले चौधरीलाई आममाफी दिएपछि उनी हिजो गणतन्त्र दिवसको दिन बिहानै डिल्लीबजार कारागारबाट थुना मुक्त भएका थिए । झण्डै आठ वर्षअघि कैलालीको टिकापुरमा छ जना सुरक्षाकर्मी र एक नाबालकको बर्बरता ढङ्गले हत्याभएको घटनालाई लिएर चौधरीमाथि हत्याको अभियोग लागेको थियो । उनीविरुद्ध लागेको हत्याको अभियोगमा जिल्लादेखि सर्वोच्च अदालतसम्मका तीनैबाट टीकापुर घटनामा चौधरीलाई दोषी ठहर गर्दै आजन्म कारावासको सजाय तोकिएको थियो ।

सरकारले तीन तहको आदेशलाई बेवास्ता गर्दै हत्याअभियोगमा जेलजीवन विताइरहेका चौधरीलाई बाँकी कैद मिनाहा गरी रिहा गरिएको थियो । उनको रिहाइप्रति सर्वत्र विरोध हुनथालेको छ ।