फाइल तस्वीरः पेरिस डाँडामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड ।
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धान गर्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा आयोजित सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले दरबार हत्याकाण्डको अनुसन्धान गर्ने दावी गर्नुभएको हो ।

ठुला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरूको अनुसन्धान गरी निचोडमा पुग्ने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले भ्रष्टाचारका विषयमा बोल्नुहुँदै ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको समेत खोजी गरिने बताउनुभयो । माओवादीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले ठूलाठूला भयानक हत्याकाण्डहरू छन्, ती हत्याकाण्डहरूको खोजीनीति गर्नुछ । चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड । त्यसको छिनोफानो भएको छैन । नेपाली जनताको मनमा धेरै ठूलाठूला शङ्काहरू छन् । के भएको हो भन्ने कुराको सत्यतथ्य आएको छैन ।’

प्रधानमन्त्री प्रचण्डले २०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणको बारेमा खोजी नीति गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुहुँदै ‘मैले सदनमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरू खोलिनेछन् । क्रमशः खुल्छन् । खुलाइन्छन् । मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणको बारेमा खोजीनिती गरिन्छ’— भन्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले सम्बोधनका क्रममा आसन्न भारत भ्रमणका क्रममा विद्युतको बजार क्षमताको ग्यारेन्टी हुने गरी छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै दुवै देशबिचको सीमा विवादलाई समाधान गर्ने उपाय खोज्ने र त्यसका लागि विश्वासको वातावरण बनाउन पहल गर्ने बताउनुभयो ।