तस्वीरः मेलम्ची खानेपानी आयोजना
काठमाडौं — मेलम्ची खानेपानी आयोजनाको पानी पुनः वितरण हुने भएको छ । हिजो सोमबारदेखि सुरुङमार्फत् काठमाडौंमा पानी पठान्तरणको काम सुरुभएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार काठमाडौंमा पर्सी बिहीबारदेखि पुनः खानेपानी वितरण सुरु गरिने भएको छ ।
जेठ ५ गतेदेखि बन्द गरिएको मेलम्चीको पानी काठमाडौं पठान्तरण गर्ने कार्य केही दिनको लागि रोकिएको थियो । वर्षातको समयमा पानी पठान्तरण गर्न समस्या नहोस् भनेर सुरक्षा जाँचका लागि केही दिन मेलम्चीको पानी काठमाडौं उठाउन रोकिएको थियो ।
सुरुङको रेक्टिफिकेशन तथा बाढीले क्षतिग्रस्त हेडवर्क्स लगायतका संरचनाको निर्माण गर्न बन्द गरिएको मेलम्ची खानेपानी पुनः वितरण सुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले बताउनुभएको छ । हेडवर्क्सको अल्प तथा मध्यकालिक पानी पठान्तरणका कार्यहरू नदी फर्काएरै गर्नुपरेकाले मेलम्ची खानेपानी विकास समितिले १० दिन अघि सूचना जारी गरेर मेलम्चीको सुरुङ बन्द गरेको थियो ।
हेडवर्क्समा नयाँ संरचना निर्माण भएपछि सामान्य बाढीमा पहिले जस्तो सुरुङ बन्द गर्नु नपर्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।