फाइल तस्वीरः कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की
काठमाडौं — सर्वोच्च अदालत झण्डै डेढ वर्षदेखि रिक्त प्रधानन्यायाधीश पदका लागि नियुक्ति गर्ने प्रक्रिया अघि बढेको छ । आज मङ्गलबार बिहान सिंहदरबारमा बसेको संसदीय विशेष सुनुवाइ समितिको पहिलो बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ ।
संवैधानिक परिषद्ले गत वैशाख २५ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गरेको थियो । आज बसेको समितिको बैठकले कार्कीका सम्बन्धमा १० दिनभित्र उजुरी दिन सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय गरेको छ । उक्त सार्वजनिक सूचना गोरखापत्रमा प्रकाशन र नेपाल टेलिभिजनबाट प्रसारण गरिनेभएको छ । समितिका जेष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकमा प्रधानन्यायाधीशमा सिफारिस गरिनुभएका कार्कीको व्यक्तिगत विवरण समितिका सदस्यहरूलाई उपलब्ध गराइएको थियो ।
कामु प्रधानन्यायाधीश कार्कीमाथि लिखित रूपमा पत्रमार्फत् वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत् उजुरी दिन सकिने छ । उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नेछ भने नाम विनाको कुनैपनि उजुरीलाई भने प्राथमिकता नदिने विषयमा समितिमा छलफल भएको छ ।