फाइल तस्वीरः परराष्ट्रमन्त्री नारायणप्रसाद साउद ।
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भोलि बुधबारदेखि हुने भारतको चारदिने भ्रमणका क्रममा हुने द्विपक्षीय सम्झौता कार्यान्वयन हुने गरी मात्र गरिने भएको छ । सो कुराको जानकारी परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले गराउनुभएको हो ।

सरकारले विगतमा भारतसँग सम्झौता हुने तर ती सम्झौताहरु पूर्णरुपमा कार्यान्वयन नभएकाले प्रधानमन्त्रीको यस पटकको भारत भ्रमणका क्रममा हुने सम्झौता पूर्णरुपमा कार्यान्वयन हुने गरीमात्रै गरिने दावी गर्नुभएको छ । भारत भ्रमणको पूर्वसन्ध्यामा मन्त्री साउदले कार्यान्वयनको सुनिश्चित गर्न नसके भ्रमणमा भएका सम्झौताको कुनै अर्थ नरहने बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ गते भोलि बुधबारदेखि जेठ २० गते शनिबारसम्म भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लाग्नुभएका प्रधानमन्त्रीको साथमा परराष्ट्रमन्त्रीसहित अर्थ, भौतिक पूर्वाधार, ऊर्जा र उद्योग मन्त्री र सचिवहरुसमेत जानुहुने भएको छ ।

मन्त्री साउदले प्रधानमन्त्रीको यस पटकको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउनुभएको छ । भारत र नेपालबीच ब्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोग, ऊर्जाका विषयमा सम्झौता हुने बताइएको छ । भ्रमणका क्रममा पञ्चेश्वर परियोजना, लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विषयलाई टुङ्गो लगाउने प्रयास हुने परराष्ट्रमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले यस भ्रमणका बेला नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकको बारेमा पनि भारतीय पक्षको ध्यानाकर्षण गराउने बताइएको छ ।

परराष्ट्रमन्त्री साउदले ‘जलविद्युत आयोजनामा भारतीय लगानी सुनिश्चित गर्ने कुरा, एलओसीबाट ट्रान्समिसन लाइनहरु बनाउने कुरा, नेपाल–भारतका बीचमा लामो समय पावर पर्चेज डिल गर्ने कुरा, भारतीय ग्रिड र ट्रान्समिसनलाई प्रयोग गरेर बंगलादेशमा विद्युत निर्यात गर्नुपर्ने जस्ता महत्वपूर्ण कुरा सामेल छन् । यसलाई हामी वार्ता, छलफलको माध्यमबाट सहमति र सम्झौतामा टुङ्गोमा पुग्ने प्रयत्नमा छौं’— भन्नुभएको छ ।