फाइल तस्वीरः सङ्घीय संसद् सचिवालय ।
काठमाडौं — प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ विशेष समितिको बैठक आज मङ्गलबार बस्दैछ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय संसदीय सुनुवाइ विशेष समितिको बैठक अहिले बिहान ८ बजे बस्ने भएको हो ।
आज हुने संसदीय विशेष समितिको पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको समेत उपस्थित हुने संसद् सचिवालयले जनाएको छ ।
अघिल्लो संसद् अधिवेशनको अन्तिम दिनमा संसदीय समिति गठन भएको भए पनि अझै पनि सभापति चयन हुन सकेको छैन । संसदीय समितिको बैठकको सभापतिमा नेपाली काङ्ग्रेसले दावी गर्दै आएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सो समितिको सभापतिमा दावी गरेको छ ।
गत सोमबार सभामुख घिमिरेले सहमतिबाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियाबाट भए पनि एक साता भित्र टुङ्ग्याउन दलहरूलाई निर्देशन दिनुभएको छ ।