फाइल तस्वीरः पूर्व–पश्चिम राजमार्ग विस्तार ।
काठमाडौं — सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने बताउनुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आव मा सम्पन्न गरिने उल्लेख गर्नुभएको हो ।
पूर्व–पश्चिम राजमार्गको कमला–ढल्केवर–पथलैया, बुटवल–गोरुसिङ्गे, काँकडभिट्टा–लौकही, पथलैया–नारायणगढ र लमही–भालुवाङ सडकखण्डको स्तरोन्नति सुरू गरिने भएको छ । आगामी आर्थिक वर्षमा नारायणी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरू गरिने भएको छ । यसका लागि ३१ अर्ब दुई करोड रुपैयाँ रकम विनियोजन गरिएको छ ।
नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने अर्थमन्त्री महतको भनाइ छ । दुर्घटना कम गर्न आवश्यक पूर्वाधार निर्माणका साथै आवश्यक नीति अगाडि बढाइने बजेटमा उल्लेख छ ।
यसैगरी काठमाडौंको कोटेश्वर, सातदोबाटो, एकान्तकुनामा फ्लाइओभर र अन्डरपास निर्माण गरिने भएको छ । नेपाल सरकारले राजमार्ग र रणनीतिक सडकअन्तर्गत आगामी आर्थिक वर्षमा एक सय ५० वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको बजेटमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रस्तुत गर्दै उक्त पुल निर्माणका लागि दुई अर्ब आठ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्रीले सदनमा प्रस्तुत बजेटमा उल्लेख गर्नुभएको छ ।
त्यस्तै, सूर्यविनायक धुलिखेल सडकखण्डको विस्तार अघि बढाउन आवश्यक रकमसमेत सरकारले विनियोजन गरेको छ । काठमाडौँ चक्रपथको कलङ्की वसुन्धरा खण्डको सडक विस्तार तथा निर्माणलाई तीव्रता दिन दुई अर्ब सात करोड रुपैयाँ छुट्टयाइएको छ ।
सरकारले राष्ट्रिय राजमार्गमा आवश्यकता अनुसार फ्लाइओभर र अन्डरपास निर्माण गरिने, ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माण आगामी आर्थिक वर्षमा सम्पन्न गरिने जनाएको छ । त्यस्तै कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर र अन्डरपास निर्माण सुरुआत गरिनेसमेत बजेटमा छ ।