काठमाडौं — मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको आय व्यय विवरणसहितको बजेट पारित गरेको हो ।

सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले ४ बजे आगामी आर्थिक वर्षको आय व्ययको विवरण प्रस्तुत गर्दै हुनुहुन्छ ।

बजेटमा आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक हुन्छन् । ती चारवटै विधेयक संसदमा प्रस्तुत गरिँदैछ । यी चार विधेयकको समरीका रुपमा अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा वाचन गर्दैछन्।

यसअघि आज दिउँसो २ बजे बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको आगामी बुधबारदेखि हुने चार दिनको भारत भ्रमणको विषयमा पनि निर्णयहरु गरेको छ । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चार दिने औपचारिक भ्रमण गर्नुहुने छ ।