तस्वीरः जेलबाट रिहा हुँदैगर्दा रेशम चौधरी ।
काठमाडौं — कैलालीको टीकापुर घटनाका मुख्य योजनाकार मानि सर्वोच्च अदालतबाटसमेत दोषी ठहर भएका रेशम चौधरी आज जेल मुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसर पारेर उनको बाँकी कैद मिनाहा गर्नुभए पछि चौधरी आज डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशम चौधरीको करिब १५ वर्ष कैद सजाय माफी भएको छ । पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष नौ महिना जेल सजाय माफी भएको हो । यस घटनाका अन्य आरोपीहरुले समेत बाँकी कैद सजाय माफ पाएका छन् ।

झण्डै आठ वर्ष अघि २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि कार्यक्षेत्रमा खटिएका आठ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । सोही घटनालाई लिएर रेशम चौधरीलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई यही जेठ २ गते मङ्गलबार सर्वोच्च अदालतले सदर गरेको थियो ।

हत्या अभियोगमा डिल्लीबजार कारागारमा पाँच वर्षदेखि कैद सजाय भोगिरहेको रेशम चौधरी आज सोमबार रिहा हुने भएपछि उनलाई घरपरिवारका सदस्यहरुसहित उनका शुभचिन्तकहरु डिल्लीबजार कारागार पुगेका थिए । बाँकी कैद मिनाहा पाएका रेशमको स्वागतका लागि नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ताहरुको समेत ठूलो भिड लागेको थियो ।