तस्वीरः प्रतिनिधिसभामा सांसद्हरुको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्ड ।
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति गरेर अघि बढ्न सबै दलसँग आग्रह गर्दै भ्रष्टाचारविरुद्धको लडाई हामी सबै मिलेर मात्र जित्न सक्छौं भन्नुभएको छ । प्रतिनिधिसभाको आज शनिबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय समस्याहरु समाधान गर्न सबै एक ठाउँमा आउनु पर्नेमा जोड दिनुभएको हो ।
पहिलो गठबन्धनबाट दोस्रोमा आइपुग्दा केही तितामिठा अनुभूति भए पनि देश र जनताको हितलाई हेरेर साना ठूला सबै राजनीतिक दलहरु एकै ठाउँमा आउनुपर्ने बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले २०७२ मा विनाशकारी भूकम्प गएपछि प्रतिपक्षमा रहेको आफ्नो दलले सरकारलाई सहयोग गरेको र अहिले पनि संसदीय समिति गठन, संवैधानिक परिषद्का विषयमा आफूले सक्दो लचकता देखाएको बताउनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो ‘अहिले पनि राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति आवश्यक छ । सुशासन, त्यसमा पनि भ्रष्टाचारविरुद्धको लडाई हामी सबै मिलेर मात्र जित्न सक्छौं ।’