फाइल तस्वीरः काङ्ग्रेसका सांसद् एवम् प्रमुख सचेतक रमेश लेखक ।
काठमाडौं — सत्तारुढ दल नेपाली काङ्ग्रेसका सांसद् एवम् प्रमुख सचेतक रमेश लेखकले सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रमले देशको आर्थिक, शासकीय र संवैधानिक अवस्था तथा परिवेशलाई विश्लेषण गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद् लेखकले सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

यस्तो सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले कार्यक्रमले राष्ट्र र राष्ट्रिय हितको संरक्षण गर्दै समृद्ध, सबल र न्यायपूर्ण नेपाल निर्माण गर्ने लक्ष्य लिएको बताउनुभयो । “यसले अहिलेको संवैधानिक, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था र परिवेशलाई मूल्याङ्कन गरेको छ । हामीले राष्ट्रिय हितको जगेर्ना गर्दै समृद्ध र न्यायपूर्ण नेपाल बनाउँछौँ भन्ने गन्तव्य नीति कार्यक्रमले देखाएको छ”, उहाँले भन्नुभयो ।

सरकारको नीति तथा कार्यक्रमले संविधानको कार्यान्वयन, अर्थतन्त्रमा सुधार गर्ने, सुशासनको प्रत्याभूति दिलाउने, शासकीय सेवा प्रवाहमा सुधार गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, रोजगारीमा वृद्धि गर्ने, पर्यावरणीय सन्तुलन गर्ने विषयलाई प्राथमिकता दिएको बताउनुभयो ।

“सबै प्रकारका विभेदको अन्त्य गर्ने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने, दिगो एवं भरपर्दो पूर्वाधार विकास गर्ने, शिक्षा, स्वास्थ्यजस्ता अधारभूत विषयमा सरल र सहजरूपमा नागरिकको पहुँच स्थापित गर्ने र आत्मनिर्भर हुँदै निर्यातमुखी उत्पादन व्यवस्था अगाडि बढाउने विषय यसले समावेश गरेको छ”, प्रमुख सचेतक लेखकले भन्नुभयो ।

नीति कार्यक्रमले आजको स्थितिलाई विश्लेषण तथा जानुपर्ने गन्तव्यलाई निर्धारण गर्नुका साथै त्यहाँसम्म पुग्ने साधनको उचित व्यवस्था गरेकाले आफ्नो पार्टीले नीति तथा कार्यक्रमलाई स्वीकार र समर्थन गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “नीति कार्यक्रम सरकारको अर्थ राजनीतिक घोषणापत्र हो । मूलतः यो घोषणापत्रले तीनवटा कुरा बोकेको छ । तत्कालीन आर्थिक, संवैधानिक र शासकीय अवस्थाका बारेमा सूक्ष्म अध्ययन गरेर विश्लेषण गरेको छ ।”