फाइल तस्वीरः प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरमा रहेको जलहरीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धान भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै सो सम्बन्धमा सरकारको धारणा राख्दै प्रधानमन्त्रीले यस विषयमा आयोगले स्वतन्त्र एवम् निष्पक्ष छानविन गर्ने बताउनुभएको हो ।

पशुपतिनाथ मन्दिरमा रहेको जलहरीका विषयमा छानविन गर्न सरकारको सहयोग रहने भन्नुहुँदै प्रधानमन्त्रीले “कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरी विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सदनमा व्यक्त विचार हुनु उचित होइन, यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन पनि रहेको छ’ — भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले जलहरीलगायत क्षेत्रमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोष भएकाले सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद नरहेको सदनलाई जानकारी गराउनुभयो ।

बैठकमा सभामुख देवराज घिमिरेले यही जेठ १० गते नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सांसद् लेखनाथ दाहालले प्रयोग गर्नुभएको विचारभित्र ‘स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरू’ भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ ।