फाइल तस्वीरः सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्मा ।
काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा सरकारलाई चौतर्फी घेराबन्दी भएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय सधारण सभा तथा २१ औं कृष्णसेन इच्छकु स्मृति दिवसको अवसरमा काठमाडौंको साँखुस्थित शङखरापुरमा आयोजित कार्यक्रमलाई सम्बोधनगर्ने क्रममा सञ्चारमन्त्री शर्माले यस्तो खुलासा गर्नुभएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले ‘विगतमा जनताको मुक्ति आन्दोलनलाई मिसन बनायौं, आजको युगमा फरक तरिकाले अघि बढ्न खोजेका छौं । चुनौतीहरु अझ डरलाग्दा छन् । त्यसैले एकताबद्ध भएर लड्नुपर्ने छ । त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने भएको छ’— भन्नुभयो ।

विगतमा हालीमुहाली गरेकाहरुले घेराबन्दी गर्नु स्वाभाविक भएको भन्दै मन्त्री शर्माले सरकारले गरेका राम्रा कामको बारेमा पत्रकारहरुले व्यवस्थित रुपमा प्रचारप्रसार गर्न आग्रह गर्नुभयो । संसद्मा नेकपा माओवादी केन्द्र तेस्रो ठूलो दल भएता पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गुणात्मकरुपमै महत्वपूर्ण काम गरिरहेको दावी गर्नुहुँदै गलत कामको खबरदारी र राम्रा कामलाई पार्टी, प्रचार मोर्चाबाट व्यवस्थित ढङ्गबाट प्रचार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।