फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक अवरोध गर्दै एमालेका सांसदहरु ।
काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन । पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै एमालेले सदन अवरुद्ध गरेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले अबरुद्ध गरेपछि अपराह्न १२:४५ मिनेटमा २० मिनेटका लागि स्थगित गरिएको थियो । सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी विशेष कारणबस बैठक तीन बजेमात्रै बस्ने जानकारी गराएको थियो ।
आजै बसेको अघिल्लो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै सदन अवरुद्ध गरेका थिए ।
एमालेका प्रमुख सचेतक गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पशुपतिनाथमा लगाएको जलहरी सुन होइन पित्तल हो भनी नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले आरोप लगाएकाले त्यसको जवाफ नआउँदासम्म सदन अघि नबढ्ने बताउनुभएको थियो ।
सभामुख घिमिरेले एमालेका सांसदहरुलाई पटक पटक आसनग्रहण गर्न आग्रह गर्दा पनि निरन्तर अवरोध गरेपछि केही बेरका लागि बैठक स्थगित भएको थियो । एमालेका सांसदहरुले रोस्टम घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए ।
एमालेले निहुँ झिकेर संसद् अवरोध गर्नुको तात्पर्य सरकारको नीति तथा कार्यक्रममालाई फेल गराउने र प्रचण्ड नेतृत्वको सरकारलाई गिराउने रणनीतिक रुपमा प्रयोग गर्न खोजिएको हो कि भन्ने देखिन्छ ।
आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममा सांसदहरुको उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएपछि संसद्बाट सरकारको नीति तथा कार्यक्रम पास गर्ने कार्यक्रम थियो ।