ढोरपाटन — पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्रगतिमा बजार विस्तार भइरहेको छ । बजारमा जनघनत्व बढ्दो छ । गाउँबाट बसाइँसराइ गरेर यहाँ आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ । वर्षौँ अगाडि निर्माण भएका पूर्वाधारले अहिले थेग्न सक्ने अवस्था छैन । बजारको फोहोर व्यवस्थितरूपमा व्यवस्थापन हुन सकेको छैन ।
ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङ बजारको फोहोर अहिले वडा नं ३ स्थित बाघखोरमा फाल्ने गरिएको छ । ढोरपाटनले छ वर्षदेखि बाघखोरमा फोहोर व्यवस्थापन गर्दै आएको छ । त्यसअघि भूजीखोलामा फोहोर व्यवस्थापन गर्ने गरिएको थियो । अहिले बाघखोरमा व्यवस्थापन गरिएको फोहोर खोलामा बग्ने गरेको छ । अव्यवस्थितरूपमा व्यवस्थापन गरेको फोहोर हावाले उडाएर र पानी पर्दा बगाएर खोलामै पुग्छ ।
फोहोरले तमानखोला र भूजीखोला दूषित बनेका छन् । यी दुवै खोला बडिगाडखोलामा मिसिन्छन् । फोहोरबाट जलचर प्राणीलाईसमेत असर पुगेको छ । अहिले फोहोर व्यवस्थापन गर्दैगरेको ठाउँ नगरपालिकाको वडा नं ३ र ४ को विभिन्न गाउँ तथा तमानखोला पुग्ने सडक छेउमै पर्छ । सडक छेउमा रहेको ‘डम्पिङसाइट’का कारण यात्रुलाई समस्या भएको छ ।
बुर्तिबाङ–बोङ्गादोभान सडकमा दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्छन् । पैदलयात्रुलाई फोहोरको दुर्गन्धले समस्या भएको छ । बुर्तिबाङबजारको फोहोर नगरपालिकाले दैनिक यही ल्याएर फ्याँक्छ । कुहिने तथा नकुहिने सबै फोहोर एकै ठाउँ फाल्ने गरिएको छ । साँघुरो ठाउँ हुँदा फोहोर व्यवस्थापन गर्न समस्या भएको ढोरपाटनका उपप्रमुख धनबहादुर कायतले बताउनुभयो । फोहोर व्यवस्थापनका लागि जग्गा खोज्ने अवस्था रहेको उहाँको भनाइ छ ।
“बुर्तिबाङ बजार निकै साँघुरो र वरपर पर्याप्त जग्गा नहुँदा पुरानै ठाउँमा फोहोर व्यवस्थापनको विकल्प छैन, जग्गा खोजी गरिरहेका छौँ, हालसम्म पाएका छैनौँ”, उहाँले भन्नुभयो ।
सडक छेउमा थुप्रिएको गन्धले यात्रा गर्न समस्या भएको तमानखोलाका वीरबहादुर सिर्पालीले बताउनुभयो । वरपरको क्षेत्र दुगन्धित बनिरहेको उहाँको भनाइ छ । सिर्पाली भन्नुहुन्छ, “फोहोर तमानखोलाको किनारमा थुपारिएको छ, ठूलो पानी पर्यो भने सबै फोहोर खोलामा जान्छ, हावाहुरीले उडाएर वातावरण नै दूषित बनाएको छ ।” रासस